भदौ २३ गते घाँटीमा गोली लागेका फोटोपत्रकारको अनुभव- आन्दोलनकारीले ‘यो १२ भाइ रहेछ, एम्बुलेन्समा नहाल्’ भने
भदौ २३ गते ‘जेन-जी’ आन्दोलनको फोटो खिचिरहेकै अवस्थामा मेरो घाँटीमा गोली लाग्यो। मलाई गोली लाग्दा कसैले भन्यो, ‘ओइ, त्यो १२ भाइ रहेछ। त्यसलाई एम्बुलेन्समा नहाल।’
त्यति मात्र होइन, म सिभिल अस्पतालमा उपचाररत रहँदा मेरा साथीहरू भेट्न जाँदा हातपात भयो। ‘पत्रकारलाई कुट्’ समेत भनियो। सिभिल अस्पतालबाट रेफर भएर पाटन अस्पतालमा लैजान खोज्दा एम्बुलेन्स तोडफोड गरियो। यसको जिम्मेवार को?
‘१२ भाइ मिडिया’ भन्ने पपुलिस्ट नेता हुन् या मूलधारका मिडियालाई ‘झोले मिडिया’ भन्नेहरू हुन्; उनीहरूकै कारण आज फिल्डमा खटिएका हामी पत्रकारमाथि दुर्व्यवहार भएको छ।
सम्पादक हुन् या मिडिया सञ्चालक, उनीहरूको कोसँग के सम्बन्ध हुन्छ- हामी फिल्डमा खटिएर काम गर्नेलाई थाहा हुँदैन तर तारो हामी बनिरहेका छौँ। फिल्डमा खट्ने पत्रकारमाथि गोली लाग्दा ‘अस्पताल नलैजा’ भन्ने र पत्रकार देख्यो कि ‘कुट’ भन्ने मानसिकतामा भीड कसरी पुग्यो? यसमा गम्भीर समीक्षा हुन जरुरी छ।

पपुलिस्ट नेताहरूले समाचारमा चित्त बुझेन भने कानुनी प्रक्रिया चाले भइगो, समग्र मिडियामाथि आक्रमण गर्दा लोकतन्त्र बलियो हुन्छ? ‘हेट स्पिच’को शिकार पत्रकार भइरहेका छन्। म अहिलेसम्म कुनै दलको सदस्य छैन तर राजनीतिक दलमा आबद्ध भएर पत्रकारिता गर्ने केहीको रिस हामीमाथि पोख्छन्।
पत्रकारले पत्रकारिता गर्ने हो, न कि राजनीति! पत्रकारिताको आवरणमा राजनीति गर्नेले पत्रकारिताको हुर्मत लिइरहेका छन् अनि अपमान र तिरस्कार चाहिँ हामी फिल्डमा खट्ने पत्रकारले बेहोरिरहेका छौँ
मिडिया हाउस र सम्पादक पनि छद्म हुनुभएन, खुलेरै ‘जे हो त्यही’ भने फिल्डमा खट्न सजिलो हुन्छ तर नखुल्दा फिल्डमा खट्ने पत्रकारले ‘ह्यारेसमेन्ट’ भोगिरहेका छौँ।

‘ह्यारेसमेन्ट’को दर अहिले झन् बढी हुन थालेको छ। हामी ‘पब्लिक’मा फोटो खिच्न जाँदा ‘ओइ, फलानो हाम्रो फोटो खिच’ भन्दै दबाब दिने अवस्था छ, स्वतन्त्र रूपले काम गर्न सक्ने अवस्था छैन। यसमा ‘हेट स्पिच’ दिने नेता र पत्रकारिताको आवरणमा राजनीति गर्ने पत्रकारको दोष छ। पत्रकारितालाई स्वतन्त्र छाडिदिनुहोस्, एउटाले गरेको अनप्रोफेसनल कामले समग्र पेसालाई धुमिल बनाएको छ।
तीन ठूला घटनाले सिकाएको पाठ
मैले २०७२ सालदेखि फोटोपत्रकारिता सुरु गरेँ। त्यतिबेला भूकम्प गएको थियो। टेलिभिजनमा काम गर्ने भएको हुँदा भिडियो खिच्न सिक्दै थिएँ। त्यही टेलिभिजनको लागि भिडियो खिचेँ।
विपद् पत्रकारिता कसरी गर्ने भनेर सिकेर भन्दा पनि काम गर्दै जाँदा फोटो/भिडियो खिचियो। भूकम्पका बेला विपद् पत्रकारिता कसरी गर्ने भन्ने सायद धेरैलाई थाहा थिएन। भत्किएका घर, मृतकदेखि सरकारका काम कारबाहीसम्मका फोटो खिचियो।
त्यसपछि ‘समाचारपत्रदैनिक डटकम’ भन्ने अनलाइनमा केही समय काम गरेँ। विगत ६ वर्षदेखि ‘नयाँ पत्रिका’ मा आबद्ध छु। फोटोपत्रकारले दैनिक घट्ने घटनाको फोटो त खिच्नैपर्यो। कोरोनाका बेलामा अकस्मात् ‘लकडाउन’ भएपछि धेरै मान्छे बिचल्लीमा परे। त्यति मात्र होइन, केही त काठमाडौंदेखि हिँडेरै घर फर्किए। हामी मान्छे कसरी हिँडेर गएका छन् भनेर फोटो खिच्न गयौँ।

पटपटी फुटेका गोडा, फाट्नै लागेका चप्पल, बालबच्चा बोकेर तातो सडकमा उनीहरू हिँडिरहेका थिए। उनीहरू काठमाडौंमा मौसमी काम गर्न आएकाहरू वा विद्यार्थीहरू थिए, जो लकडाउनले गर्दा सबै काम बन्द भएपछि खानै अभाव भएर घर फर्किएका थिए। हामीले उनीहरूको फोटो खिच्यौं।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ‘सरकारी कर्मचारीले नदेख्ने, पत्रकारले कसरी देखे?’ भनेर आक्रोशित समेत भएका थिए। जताततै मजदुरहरू दुःख गरेर हिँडेको तस्बिर आउन थालेपछि सरकारले केहीलाई घर जाने व्यवस्था गरेको थियो।
२०८१ साल चैत १५ गते तीनकुनेमा राजावादीको आन्दोलन र भदौ २३ तथा २४ गतेको जेन-जी आन्दोलन पत्रकारको लागि ठूलो क्षति भयो, सँगै पाठ सिक्ने मेसो पनि। चैत १५ गते सुरेश रजकको ज्यान गयो। त्यस दिन हामी फोटो खिचिरहँदा आन्दोलनकारीले ‘ओइ फोटो खिच्छस्’ भनेर अपशब्द बोलेका थिए।
भदौ २३ गते तीन जनाजति पत्रकारलाई गोली नै लाग्यो। त्यसमा म पनि परेँ। काम गरिरहेको बेला गोली लाग्यो। त्यस दिन जसरी सहजै आन्दोलनकारीले ब्यारिकेड तोडे। तर, यसअघि भएको एमसीसी आन्दोलनमा प्रहरीले राम्रो ‘ह्यान्डलिङ’ गरेको थियो।
गोली त लाग्यो, तर भीडले ‘१२ भाइ रहेछ एम्बुलेन्समा नहाल’ भन्नेदेखि ‘पत्रकार कुट’ भन्नेसम्मका कुरा सुनियो। त्यतिबेला लाग्यो- कुनै दलमा आबद्ध नभई आफ्नो काम गर्दा पत्रकारले लोकतान्त्रिक मुलुकमा यो हदको दुर्व्यवहार किन भोग्नुपर्छ?
गोली लाग्दाको क्षण र अस्पतालको सकस
भदौ २३ गते फोटो खिच्दाखिच्दै गोली लाग्यो। हामी संसद् भवनको बाहिर थियौँ। सवा एक बजे गोली लागेपछि अस्पताल लाने बेलासमेत ‘१२ भाइ’को ट्याग भिरियो। चार-पाँच जना फोटो खिच्ने सँगै थियौँ। गोलीको छर्रा ‘आइराछ, आइराछ’ भन्दाभन्दै नै मेरो घाँटीमा लागिहाल्यो। हामी सिभिल हस्पिटल गयौँ।

एक्सरे गरेपछि मेरो घाँटीमा तीनवटा छर्रा देखियो; दुइटा प्वाल र तीनवटा छर्रा। नाक-कान-घाँटीको डाक्टरले हेर्नुपर्ने रहेछ तर त्यहाँ नभएपछि पाटन गइयो। पाटन जाँदा एम्बुलेन्समा ढुंगामुढा भयो। कत्रो घाउ हो?, कति गहिरो छ? अनि इन्फेक्सन हुने हो कि भनेर एकदमै डर लाग्यो।
आठ दिन अस्पताल बसेँ। अप्रेसनहरू गरियो। चार घण्टाको मेजर अप्रेसन पनि भयो। गोलीले मेरो मेरुदण्ड छुन अलिकति मात्र बाँकी थियो। त्यतिबेला केही शंकाहरू थिए- नशाहरू पनि केही ड्यामेज हुन सक्ने, प्यारालाइज हुन सक्ने, गिजामा समस्या आउन सक्ने, कान सुन्न नसक्ने अथवा मुख एकतिर बाङ्गिन सक्छ भन्ने कुराहरू भएका थिए।
तर पाटनका डाक्टरहरूले एकदम धेरै मिहिनेत गर्नुभयो र साइड इफ्केटहरू केही पनि देखिएन। अहिलेसम्म उपचार खर्च केही संस्था र मैले काम गरेको मिडिया हाउस ‘नयाँ पत्रिका’ ले बेहोरिदिएको छ।
मैले पत्रकारिता सुरू गरेकै साल गएको भूकम्प, बीचमा भएको कोरोना महामारी र अहिलेको जेन-जी आन्दोलन, जसमा म आफैँ घाइते हुन पुगेँ; यसले हाम्रो मिडियाको कमजोरी उदाङ्गो त पारेको छ नै, धेरै पाठ पनि सिकायो भन्ने लाग्छ।

पहिलो; विपद् पत्रकारिता कसरी गर्ने? विपद् बाजा बजाएर आउँदैन भन्ने तर प्राकृतिक प्रकोपको उच्च जोखिममा बसेर सोसम्बन्धी रिपोर्टिङ गर्ने तरिका पत्रकारलाई केही नसिकाउनु मिडियाको अदूरदर्शीपन हो। अपर्झट विपद् आउँदा के गर्ने, के नगर्ने पत्रकारलाई थाहै हुँदैन।
दोस्रो; मान्छे वियोगमा परेको बेला कसरी काम गर्ने? उदाहरणको लागि- कोरोना महामारीको बेला पशुपति मन्दिरमा धेरै शव जल्न थालेपछि हामीले फोटो खिचेका थियौँ। टाढै बसेर खिच्दा पनि ‘हामीलाई यति दुःख छ, के को फोटो?’ भनेर हप्काए। एक त कोरोनामा भएको सरकारको लापरबाही देखाउन फोटो नभई नहुने, दोस्रो मृतकका आफन्तले अलि दुर्व्यवहार गर्ने। यस्तो अवस्थामा कसरी काम गर्ने?
अनि तेस्रो; आन्दोलनका बेला रिपोर्टिङ कसरी गर्ने? प्रहरीले हस्तक्षेप नगरेको बेला र गोली नचलेको बेला त केही भएन। तर, प्रदर्शनकारी उग्र अनि प्रहरी प्रशासन दमनमा उत्रिएपछि पत्रकारले कसरी सुरक्षित भएर काम गर्ने?
मिडियासँग जोडिएकाहरूलाई प्रश्न
न ज्यानको बीमा, न कुनै सामाजिक सुरक्षा, न पत्रकारले बोकेका इन्स्ट्रुमेन्टको बीमा! पूरै असुरक्षित छाडिदिएर रिपोर्टिङ हुन्छ? यसमा हाम्रा सिनियरहरूले आवाज उठाउनु पर्दैन? सम्पादकहरूले थिति बसाल्नु पर्दैन?

फिल्डमा उत्रिएको पत्रकारको ज्यानको सुरक्षा सम्पादकले लिनु पर्दैन? मिडिया हाउसको जिम्मेवारी होइन? सुरक्षा यस अर्थमा कि कुनै दुर्घटना भइहाले त्यसपछिको उपचारको सुनिश्चितता। तर, यहाँ त पत्रकार महासंघ पनि छ, यसबारे बोल्दैन। केहीलाई छाड्ने हो भने अधिकांश संघसंस्था पनि बोल्दैनन्।
जसको आवरणमा राजनीति गरिएको छ, उसको संरक्षण गर्नु पर्दैन? फोटो पत्रकारका संस्था हुन् या पत्रकार महासंघका संस्था, विज्ञप्ति निकाल्नेबाहेक अर्को काम हुँदैन? सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य गर्नैपर्ने दबाब मिडिया हाउसलाई दिन सकिँदैन?
केही दिनअघि सञ्चार मन्त्रालयले बोलाएको थियो; सरकारी मिडियामा काम गर्ने पत्रकारलाई चाहिँ बल्ल सामाजिक सुरक्षा कोष अनिवार्य गरिँदै छ रे! सरकारले बनाएको नियम सरकारी संस्थामै लागू नहुने? लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रताको ठूलो सम्मान हुन्छ र पत्रकारितालाई सुरक्षित राख्नुपर्छ भन्ने पनि हुन्छ, हाम्रोमा किन हुन सकिरहेको छैन?
अन्त्यमा, अहिले म ‘पेड लिभ’ मै छु। जाडोमा घाँटीको घाउ धेरै दुख्छ। ब्याग बोक्न, दौडधुप गर्न गाह्रो छ। त्यसैले पूर्ण रूपमा निको नभएसम्म फिल्डमा फर्किन डराइरहेको छु। कामै नगर्ने सोच चाहिँ छैन तर भविष्यमा काम गर्ने ढाँचा, प्लेटफर्म र स्वरूपबारे सोच्न बाध्य भएको छु। अहिलेसम्म दीर्घकालीन शारीरिक असर त देखिएको छैन।
अब आफूलाई मानसिक र शारीरिक रूपमा तयार पार्दै काममा फर्किने योजना छ। जोखिमहरू आउँछन्, यसलाई चिरेर अघि बढ्ने नै हो भनेर ‘प्यासन’का साथ पत्रकारितामा आएको हुँ। फोटो पत्रकारिता छोड्ने मन छैन। तर यो क्षेत्र सुरक्षित, सम्मानित र टिकाउ बनाउन संस्थागत परिवर्तन अपरिहार्य छ। मिडिया लगानीकर्ता, सम्पादक र राज्यले समेत समीक्षा गर्नुपर्ने बेला भएको छ।
(जेन-जी आन्दोलनको क्रममा गोली लागेर घाइते भएका फोटो पत्रकार ढुंगानासँग प्रजु पन्तले घाइतेपछिको अवस्थाबारे गरेको कुराकानी। ढुंगाना अहिले नयाँ पत्रिकामा आबद्ध छन्।)
पुष १५, २०८२ मंगलबार १४:२२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।