सर्प वर्गलाई बिदाइ, घोडा वर्गलाई स्वागत : काठमाडौंमा तमु ल्होसारको रौनक (फोटो फिचर)
काठमाडौं : गुरुङ समुदायको महान् पर्व तमु ल्होसार (नयाँ वर्ष) आज देशभर उल्लासका साथ मनाइँदैछ।
विशेषगरी काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो मौलिक परम्परा, भेषभूषा र झाँकी प्रदर्शन गर्दै यो पर्व भव्य रूपमा मनाइरहेका छन्।
गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ। यसपटक गुरुङ समुदायले ‘सप्रि ल्हो’ (सर्प वर्ग) लाई बिदाइ गर्दै ‘त ल्हो’ (घोडा वर्ग) को स्वागत गरेका छन्।

मंगलबार बिहानैदेखि बसन्तपुरमा भेला भएका गुरुङ समुदायका मानिसहरूले आफ्नो मौलिक पहिचान झल्काउने भेषभूषामा सजिएर झाँकी र बाजागाजासहित र्याली निकाले।
र्याली बसन्तपुरबाट सुरु भई न्युरोड गेट, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, शहीदगेट हुँदै टुँडिखेलमा पुगेर विशेष महोत्सवमा परिणत भयो।

काठमाडौंको सडकमा गुरुङ समुदायका युवतीहरू मखमली चोली, घलेक र गुन्यूमा सजिएका थिए भने पुरुषहरू भोटो, कछाड र भाङ्ग्रामा ठाँटिएका थिए।
र्यालीमा घाटु, सोरठी, कौडा लगायतका मौलिक नृत्यहरू प्रस्तुत गरिएको थियो। हातमा स्यार्गा (नाच)का सामाग्री, ढ्याङ्ग्रो र विभिन्न प्लेकार्ड बोकेका सहभागीहरूले काठमाडौंको वातावरणलाई ल्होसारमय बनाएका थिए।

यसका अलावा टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुसिला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछिन्। महोत्सव स्थलमा गुरुङ संस्कृतिको झलक दिने घर, जनजीवन र परिकारका स्टलहरू आकर्षणका केन्द्र बनेका थिए।

हेर्नुहोस्, उकेराको क्यामरामा कैद भएका तमु ल्होसारको रौनक झल्काउने तस्बिरहरू:










पुष १५, २०८२ मंगलबार १३:०९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।