रौतहटमा बुलेट पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, ग्यास लिक भएपछि उच्च जोखिम
चन्द्रपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडकखण्डमा मंगलबार बिहान एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
लमाह पुल नजिकै भएको दुर्घटनाका कारण हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्।
भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको भारतीय ट्याङ्कर बिहान सडकमा पल्टिएको हो।
दुर्घटनामा परी ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरका अनुसार घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
सडकको बीच भागमै ट्याङ्कर पल्टिँदा ग्यास लिक भइरहेको प्रहरीले जनाएको छ। ग्यास लिक भएका कारण आगलागी हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै घटनास्थल वरपर उच्च सतर्कता अपनाइएको छ।
दुर्घटनाका कारण पूर्वबाट आएका सवारीसाधनलाई चन्द्रनिगाहपुरस्थित ट्राफिक कार्यालय अगाडि र पश्चिमबाट आएका सवारीसाधनलाई धन्सार पुल नजिक रोकिएको छ।
अवरुद्ध राजमार्ग खुलाउन र दुर्घटनाग्रस्त ट्याङ्करलाई सुरक्षित रूपमा हटाउन जनकपुरबाट ग्यास कम्पनीको प्राविधिकसहितको टोली बोलाइएको प्रमुख थापामगरले जानकारी दिए।
पुष १५, २०८२ मंगलबार १२:४९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।