भारतको बिहारबाट ७ नेपाली बालबालिकाको उद्धार, बुधबार परिवारको जिम्मा लगाइने
काठमाडौं : भारतको बिहार राज्यका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा रहेका सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’ को संयुक्त पहलमा उनीहरूको उद्धार गरिएको हो।
संस्थाका निर्देशक नवीन जोशीको नेतृत्वमा भएको ‘अपरेसन’पछि उनीहरूलाई स्वदेश फर्काउने तयारी थालिएको छ।
उद्धार गरिएका सबै बालबालिका मधेश प्रदेशका हुन्। निर्देशक जोशीका अनुसार उनीहरूलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।
‘बिहारका विभिन्न क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका उनीहरूको उद्धार गरेका छौं,’ जोशीले भने, ‘उनीहरूलाई यही बुधबार मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजना हुने एक कार्यक्रमका बीच परिवारसँग पुनर्मिलन गराइनेछ।’
यसअघि पनि जोशीकै अगुवाइमा केही साताअघि भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो।
पुष १५, २०८२ मंगलबार १२:०३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।