बोनस विवादमा जगदम्बा स्टिल्सको स्पष्टीकरण : ‘गैरकानुनी माग र धम्की सह्य हुँदैन, कानुनबमोजिम वितरण गर्न तयार’

बोनस विवादमा जगदम्बा स्टिल्सको स्पष्टीकरण : ‘गैरकानुनी माग र धम्की सह्य हुँदैन, कानुनबमोजिम वितरण गर्न तयार’

काठमाडौं : जगदम्बा स्टिल्स लिमिटेडले उद्योगमा कार्यरत श्रमिक युनियनले बोनसको विषयलाई लिएर गरेको आन्दोलन र धम्कीपूर्ण व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उद्योग व्यवस्थापनले मंगलबार एक विज्ञप्ति जारी गर्दै युनियनका पदाधिकारीहरूले बोनस ऐन र नियमावली विपरीत मनोमानी ढङ्गले रकम माग गरेको र सो पूरा नहुँदा व्यवस्थापन पक्षलाई धम्क्याउने तथा उद्योगको अहित हुने गरी प्रचारबाजी गरेको आरोप लगाएको छ।

उद्योग र श्रमिकबीच लामो समयदेखि बोनस वितरणको विषयमा विवाद छ।

युनियनले गत असोज ५ गतेभित्र आफूले मागेबमोजिमको बोनस रकम नदिए बन्द हड्ताल गर्ने अल्टिमेटम दिएपछि उद्योग व्यवस्थापनले श्रम कार्यालय वीरगञ्जलाई सहजीकरणका लागि अनुरोध गरेको थियो। विवाद नसुल्झिएपछि उद्योगले न्यायिक निकासका लागि अदालतको ढोका ढकढक्याएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा सम्मानित अदालतबाट विवाद निरुपण समेत भइसकेको छ । फैसला चित्त नबुझे कानुनी उपचार खोज्नुपर्नेमा पुनः बोनसको बहानामा कारखाना बन्द गर्ने धम्की दिने र गैरजिम्मेवार कार्य भइरहेको छ।’

युनियनले हुलास स्टिल, त्रिवेणी स्पिनिङ र भगवती स्टिलमा जस्तै व्यवस्थापनमाथि दुव्र्यवहार गर्ने धम्की दिएको र गत भदौ २९ गते सोही प्रकृतिको व्यवहार प्रदर्शन गरेका कारण विगत ३ महिनादेखि उद्योग व्यवस्थापनका पदाधिकारीहरू उद्योग परिसरमा उपस्थित हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।

श्रमिक युनियनले हालै पत्रकार सम्मेलन गरी उद्योगविरुद्ध भ्रामक सन्देश फैलाएको आरोप लगाउँदै जगदम्बा स्टिल्सले आफू प्रचलित कानुन मान्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उद्योगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी बोनस ऐन, २०३० बमोजिम नियमानुसार बोनस वितरण गर्न तयार छौं।’

उद्योगले श्रमिकहरूलाई उत्तेजित नहुन र कानुनसम्मत ढङ्गले समस्याको समाधान खोज्न समेत आग्रह गरेको छ।

पुष १५, २०८२ मंगलबार ११:४५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।