सामसङ इनोभेसन क्याम्पसद्वारा एआई र बिग डेटा तालिम सम्पन्न, कोडिङको नयाँ ब्याच सुरु
काठमाडौं : सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले युवाहरूलाई उन्नत प्रविधिसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
गत जुन २७ देखि डिसेम्बर ३१ सम्म सञ्चालित कार्यक्रमका दीक्षित विद्यार्थीहरूलाई पुल्चोक क्याम्पसमा आयोजित एक समारोहमा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
सोही अवसरमा कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याचमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत समेत गरियो।
एसआईसीको यो पाठ्यक्रमले विद्यार्थीहरूलाई एआई, बिग डेटा, र कोडिङजस्ता अत्याधुनिक प्राविधिक ज्ञानका साथै ‘सफ्ट स्किल्स’ पनि प्रदान गर्नेछ। यसले उनीहरूको रोजगारी क्षमता अभिवृद्धि गर्दै नेपालको डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले युवाहरूलाई भविष्यमुखी सीपहरूले सुसज्जित गरी देशको नवप्रवर्तन र प्रगतिमा योगदान गर्न सामसङ प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डिन, रेक्टर र पुल्चोक क्याम्पस प्रमुख लगायतको उपस्थिति थियो।
सामसङले आफ्नो विश्वव्यापी सीएसआर अभियान ‘टुगेदर फर टुमरो! इनेबल पिपुल’ अन्तर्गत नेपालमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पुष १५, २०८२ मंगलबार ११:३०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।