६३ दलले बुझाए समानुपातिक सूची, कांग्रेसको अझै अलमल

६३ दलले बुझाए समानुपातिक सूची, कांग्रेसको अझै अलमल

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय सकिएको छ। निर्वाचन आयोगका अनुसार सोमबार रातिसम्म ६३ वटा राजनीतिक दलले बन्दसूची दर्ता गराएका छन्।

नेपाली कांग्रेसको सूची भने अन्तिम समयसम्म दर्ता प्रक्रियामा नै अल्झिएको थियो। पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिन मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा गएका कारण कांग्रेसको सूची दर्तामा ढिलाइ भएको हो। कांग्रेसको सूची दर्ता भएपछि समानुपातिकतर्फ उम्मेदवारी दिने दलको संख्या ६४ पुग्ने आयोगले जनाएको छ।

आयोगले तोकेको समयसीमाभित्र एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले बन्दसूची बुझाएका छन्। यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी लगायत साना तथा ठूला ६३ दलले प्रक्रिया पूरा गरेका छन्।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अब आयोगले दलहरूले बुझाएको बन्दसूची प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिक तथा समावेशी क्लस्टर मिले/नमिलेको जाँचबुझ गर्नेछ।

आयोगले सूची रुजु गर्न दुईवटा टोली परिचालन गरेको छ। पहिलो टोलीले उम्मेदवारको योग्यता र मतदाता नामावली जाँच गर्नेछ भने दोस्रो टोलीले दल दर्ता र कानुनी प्रक्रिया हेर्नेछ।

जाँचबुझका क्रममा त्रुटी भेटिएमा सम्बन्धित दललाई सच्याउन निर्देशन दिइनेछ। समानुपातिक सूची बुझाउन प्रत्येक दलले ५० हजार रुपैयाँ धरौटी जम्मा गरेका छन्।

निर्वाचनमा ६४ दल सहभागी हुने तयारीमा रहे पनि आयोगसँग ५८ वटा मात्रै निर्वाचन चिह्न उपलब्ध छन्। यसका कारण केही दलहरूले संयुक्त चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी गरेका छन्।

आयोगले तोकिएको समयभित्र परिसरमा प्रवेश गरेका सबै दलको सूची बुझ्ने व्यवस्था मिलाएको थियो।

पुष १५, २०८२ मंगलबार १०:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।