बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको मृत्यु
एजेन्सी : बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जियाको मृत्यु भएको छ। ८० वर्षीया जियाको ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।
बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पार्टीको आधिकारिक फेसबुक पेजमार्फत उनको मृत्युको पुष्टि गरिएको छ।
मुटु र फोक्सोमा संक्रमण देखिएपछि उनलाई गत नोभेम्बर २३ मा अस्पताल भर्ना गरिएको थियो। उनी निमोनियाबाट समेत पीडित थिइन्।
जिया लामो समयदेखि मुटु, कलेजो, मिर्गौला, मधुमेह, बाथ रोग र आँखासम्बन्धी समस्याहरूसँग जुधिरहेकी थिइन्। उनको मुटुमा स्थायी पेसमेकर जडान गरिएको थियो र पहिले मुटुको शल्यक्रिया (स्टेन्टिङ) पनि गरिएको थियो।
केही महिनाअघि लन्डनमा उपचार गराएर फर्किएकी उनी एभरकेयर अस्पतालमा नियमित स्वास्थ्य जाँच गराइरहेकी थिइन्।
सन् १९४५ मा जन्मिएकी खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री थिइन्। सन् १९९१ को आम निर्वाचनमा विजयी भएपछि उनी पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। उनले नै बंगलादेशमा संसदीय शासन प्रणालीको सुदृढीकरण र निष्पक्ष चुनावका लागि कामचलाउ सरकारको व्यवस्था भित्र्याएकी थिइन्।

सन् १९८१ मा पति तथा तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्यापछि उनी राजनीतिमा होमिएकी थिइन्। जनरल इरशादको तानाशाही शासनविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी उनलाई ‘सम्झौताहीन नेता’ का रूपमा चिनिन्थ्यो। उनी सन् १९९१, १९९६ र २००१ गरी तीन पटक देशको प्रधानमन्त्री बनिन्।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि उनी सन् २०१८ फेब्रुअरी ८ मा जेल परेकी थिइन्। कोरोना महामारीका बेला सन् २०२० मा उनलाई सर्तसहित अस्थायी रिहाइ गरिएको थियो।
तत्कालीन अवामी लिग सरकारले उनलाई उपचारका लागि विदेश जान प्रतिबन्ध लगाएको थियो। तर, यसै वर्षको अगस्ट ६ मा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संविधानको अधिकार प्रयोग गर्दै उनलाई पूर्ण रूपमा सजायमुक्त गरेका थिए।
खालिदा जियाका पछाडि अब उनका एक मात्र जीवित छोरा तारिक रहमान, बुहारी र नातिनी छन्। १७ वर्ष लामो निर्वासनपछि तारिक गत डिसेम्बर २५ मा मात्र बंगलादेश फर्किएका थिए। उनका कान्छा छोरा अराफात रहमान कोकोको केही वर्षअघि मलेसियामा मृत्यु भएको थियो।
पुष १५, २०८२ मंगलबार ०८:५२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।