गोल्डस्टारकी विदुषी र चमार समुदायबाट पहिलो एमबीबीएस डाक्टर रामजी राम पनि रास्वपामा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घरानादेखि भुइँमान्छेको प्रतिनिधित्व गर्ने अभियन्तासम्म समेटिएका छन्।
सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई समेत मिलाएर ११० जनाको नामावली पेश गरेको छ।
उक्त सूचीमा गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा र चमार समुदायबाट पहिलो एमबीबीएस डाक्टर रामजी रामको उपस्थितिले विशेष चर्चा पाएको छ।
रास्वपाले खस आर्य महिलातर्फको समानुपातिक सूचीमा गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणालाई समेटेको छ। उनीसँगै सूचीमा जनताबाट सहयोग रकम जुटाएर डाक्टर बनेका डा. रामजी राम पनि अटाएका छन्।
रास्वपाले दलित पुरुषतर्फको चौथो नम्बरमा डा. रामजी रामलाई राखेको छ। आर्थिक अभावका कारण पढाइ रोकिने अवस्था आएपछि जनताबाट चन्दा उठाएर एमबीबीएस पूरा गरेका राम तराईको चमार समुदायका स्वास्थ्य अभियन्ता हुन्।
प्रकाश सपुत, रिमा विश्वकर्मा र ज्ञानेन्द्र मल्ल पनि सूचीमा
सोमबार पेश गरिएको बन्दसूचीमा कलाकारिता र खेलकुद क्षेत्रका हस्तीहरू पनि छन्।
दलित पुरुषतर्फ रास्वपाले गायक प्रकाश सपुतलाई दोस्रो नम्बरमा राखेको छ। केही समयअघि एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेपछि सपुत आलोचित बनेका थिए।
यस्तै, दलित महिलातर्फ पहिलो नम्बरमा चर्चित नायिका तथा सञ्चारकर्मी रिमा विश्वकर्मा छिन्। आदिवासी जनजाति पुरुषतर्फ राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पाँचौं नम्बरमा अटाएका छन्।
रास्वपाले सोमबार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पार्टीमा भित्र्याएको थियो। घिसिङको प्रवेशसँगै काठमाडौं महानगरका मेयर बालेन शाह र कुलमान घिसिङको समूहका व्यक्तिहरूलाई समेत समेटेर रास्वपाले आयोगमा अन्तिम नामावली दर्ता गराएको हो।
क्लस्टर अनुसार को कहाँ ?
खस आर्य: पुरुषतर्फ पहिलो नम्बरमा विपिन कुमार आचार्य छन् भने उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय छैटौं नम्बरमा छन्। सूचीमा रमेश प्रसाईं, सचिन ढकाल लगायत छन्। महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावल छिन् भने त्यसपछि विदुषी राणा, लिमा अधिकारी, टीका संग्रौला (ज्वाला) लगायत छन्।
दलित: पुरुषतर्फ पहिलो नम्बरमा रुपक विश्वकर्मा घिमिरे छन्। दोस्रोमा प्रकाश सपुत, तेस्रोमा प्रकाशचन्द्र परियार र चौथोमा डा. रामजी राम छन्।
आदिवासी जनजाति: पुरुषतर्फ डा. राम रामा पहिलो र महिलातर्फ टासी लाजोम पहिलो नम्बरमा छन्।
मुस्लिम: पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह र महिलातर्फ समिना मिया पहिलो नम्बरमा छिन्। सूचीमा मोहना अन्सारी पनि समेटिएकी छन्।
मधेशी र थारु: मधेशी पुरुषतर्फ डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल पहिलो नम्बरमा छन्। थारु क्लस्टरमा पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा छन्।
पुष १५, २०८२ मंगलबार ०७:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।