ओलीको प्रशंसा गर्दा आलोचित प्रकाश सपूत रास्वपाको समानुपातिक सूचीमा

ओलीको प्रशंसा गर्दा आलोचित प्रकाश सपूत रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको समूहलाई समेत समेटेर रास्वपाले सोमबार अबेर ११० जनाको नामावली पेश गरेको हो।

रास्वपाले बुझाएको सूचीमा चर्चित लोकगायक प्रकाश सपुतदेखि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, कलाकार रिमा विश्वकर्मा र गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणासम्म अटाएका छन्।

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेपछि आलोचित बनेका गायक सपुतलाई रास्वपाले दलित पुरुष कोटाको उच्च प्राथमिकतामा राखेको छ।

दलित क्लस्टरमा प्रकाश सपुत र डा. रामजी राम
दलित समुदायतर्फको बन्दसूचीमा रास्वपाले चर्चित अनुहारहरुलाई प्राथमिकता दिएको छ। दलित पुरुषतर्फ पहिलो नम्बरमा रुपक विश्वकर्मा घिमिरे छन् भने दोस्रो नम्बरमा गायक प्रकाश सपुतको नाम छ।

तेस्रो नम्बरमा प्रकाशचन्द्र परियार र चौथो नम्बरमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई समावेश गरिएको छ।

यस्तै, दलित महिलातर्फ नायिका तथा सञ्चारकर्मी रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन्।

खस आर्यमा रमेश प्रसाईं, ज्वाला संग्रौलादेखि विदुषी राणासम्म
खस आर्य क्लस्टरको पुरुषतर्फ पहिलो नम्बरमा विपिन कुमार आचार्य छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय छैटौं नम्बरमा छन्। उनीभन्दा अगाडि सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने र रमेश प्रसाईं लगायतको नाम समावेश छ।

खस आर्य महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावल छिन्। त्यसपछि क्रमशः गोल्डस्टार जुत्ताकी कार्यकारी निर्देशक विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला) र क्रान्तिशिखा धिताल लगायतका नामहरू सूचीकृत छन्।

जनजातिमा ज्ञानेन्द्र मल्ल र टासी लाजोम
आदिवासी जनजाति क्लस्टरमा पुरुषतर्फ पहिलो नम्बरमा डा. राम राम छन्। क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पाँचौं नम्बरमा राखिएको छ। महिलातर्फ भने पहिलो नम्बरमा टासी लाजोम छिन्।

मुस्लिम, मधेशी र थारु क्लस्टर
मुस्लिम समुदायको पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह र दोस्रोमा मिर्जा रसिद वेग छन्। महिलातर्फ समिना मिया पहिलो नम्बरमा छिन् भने उनीपछि मोहना अन्सारी र समिउन निशाको नाम छ।

मधेशी समुदायको पुरुषतर्फ पहिलो नम्बरमा डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल छन्। त्यस्तै, थारु पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा रहेका छन्।

सोमबार मात्र कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि अन्तिम समयमा विभिन्न समूहको समीकरण मिलाएर रास्वपाले आयोगमा सूची दर्ता गराएको हो।

पुष १५, २०८२ मंगलबार ०७:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।