नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच एकीकरण

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको सहमति पत्रमा हस्ताक्षर भएको छ।

सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सोमबार भएको सहमतिअनुसार दुवै पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टीको नाम र चुनाव चिह्न तारा कायम रहनेछ। सहमति पत्रमा नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतालाई ध्यानमा राख्दै सामाजिक न्याय, समावेशिता, सुशासन र समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

दुवै पार्टीले सर्वोच्च राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता, महिला, दलित, थारु, मधेसी, आदिवासी, मुस्लिमलगायतका सीमान्तकृत वर्ग र समुदायको समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। टीकापुर घटनासँग सम्बन्धित मुद्दाहरूको निष्पक्ष अनुसन्धान र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ।

पुष १४, २०८२ सोमबार २०:४७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।