बदमासी छल्न ब्रिटिस कलेजको दाउ : ९ लाख दिएर पीडितलाई चुप लगाउने प्रयास, बोल्न र लेख्न समेत प्रतिबन्ध
काठमाडौँ : थापाथलीमा रहेको द ब्रिटिस कलेजले शिक्षा मन्त्रालयबाट अनुमति नै नपाएको दुबईको वुलविच इन्स्टिच्युट हस्पिटालिटी एन्ड म्यानेजमेन्टको डिप्लोमा कोर्ष पढाउने भन्दै विद्यार्थीहरूसँग १६ लाख असुलेको खुलेको छ।
कलेजले अन्तर्राष्ट्रिय लेभल ४ को अध्ययन गर्ने भनेर विद्यार्थीहरूलाई झुक्क्याएको दुबईको वुलविच एकेडेमिक नभई भोकेस्नल तालिम दिने इन्स्टिच्युट रहेको खुलिसकेको छ। ब्रिटिस कलेजका केही विद्यार्थीहरूले कलेजले गरेको बदमासी र ठगीबारे शिक्षा मन्त्रालयमा उजुरी गरेपछि भएको छानबिनमा उसले बेलायतको दुई युनिभर्सिटीसँगको आबद्धता देखाएर अनुमति लिएर अवैध रूपमा दुबइमा विद्यार्थी लगेर कामदार बनाएको खुलिसकेको छ।
उनीहरूले नेपालमै विद्यार्थी हरूलाई नेपालमा एक वर्ष, दुबईमा काम गरेर कमाउने पनि र पढ्ने पनि शैलीको इन्टर्नसिपको सुविधासहित २ वर्ष र अन्तिम एक वर्ष बेलायतको कलेजमा गएर पढ्ने प्रलोभन देखाएर रकम लिएर झुक्क्याएको देखियो। मानिसक र शारीरिक यातना पाएपछि नेपाल फर्किएका विद्यार्थीहरूले नै सो कलेजको बदमासी खुलाएका हुन्।
दुबईमा पढ्न भनेर गएका विद्यार्थीहरूलाई कामदार कार्ड बनाउन लगाउने, सुविधा सम्पन्न होस्टल भनेर कामदार राख्ने क्याम्पमा राख्ने, ट्रेनीको काम भन्दै भुईँ पुछ्ने लगायतका काम लगाएर पनि न्यून पारिश्रमिक दिने र युनिभर्सिटी भनेर इन्स्टिच्युट लगेको खुलेपछि केही विद्यार्थी नेपाल फर्किएका थिए।
उनीहरूले झुक्क्याएर आफूहरूसँग रकम असुलेको र अध्ययन गरेको सर्टिफिकेट एकेडेमिक नभएकाले अन्य युनिभर्सिटीमा मान्यता नपाउँदा चार वर्ष खेर गएको भन्दै कलेज प्रशासनमा जानकारी गराउँदा उनीहरूले उल्टो तर्साएपछि कलेजमै आन्दोलनहुँदै यो विषय शिक्षा मन्त्रालय पुगेको छ।
छानबिनमा जोगिन विद्यार्थी मुख थुन्दै कलेज
मन्त्रालयले कलेजको बदमासीबारे छानबिन गर्न समिति गठन गरे लगत्तै आफ्नो बदमासी सार्वजनिक हुनबाट रोक्न फर्किएका विद्यार्थी र अभिभावक बोलाएर खर्च भएको रकम फिर्ता दिने प्रलोभनमा कतै उजुरी पनि नगर्ने र बोल्दा पनि नबोल्ने सर्तमा हस्ताक्षर गराएको खुल्यो। उकेराले प्राप्त गरेको सहमति पत्रमा ९ लाख ५० हजार दिने सर्तमा यस प्रकरणबारे कतै नबोल्ने, कानुनी उपचार नखोज्ने र यो सहमतिबारे कसैलाई नभन्ने सर्तसहितको सम्झौतामा हस्ताक्षर गराइएको देखियो।
पीडित परिवारका अनुसार चार वर्ष खेर त गयो नै यो बिचमा प्रति विद्यार्थी १६ लाखभन्दा बढी रकम खर्च भएको देखियो। तर कलेजले जम्मा ट्युसन फी वापतको ९ लाख ५० हजार मात्र फिर्ता दिन सहमत भएको छ। त्यो पनि कतै नबोल्ने, नलेख्ने कडा सर्तमा।
उकेराले प्राप्त गरेको सहमति पत्रमा नेपालमा रहेको ब्रिटिस कलेज र दुबईको वुलविच इन्स्टिच्युट अलग अलग संस्था रहेको उल्लेख गरिएको छ। तर अलग देशमा दर्ता भए पनि यो दुवैको प्रमुख भने एकै हुन्। यी दुवै द कँडेल ग्रुप अन्तर्गतका हुन्। थापाथलीको द ब्रिटिस कलेजको प्रमुख राजन कँडेल नै वुलविचको सिइओ छन्।
आफ्नो बदमासी लुकाउन कलेज प्रशासनले सहमति पत्रमा विद्यार्थी र उनको अभिभावकले स्वेच्छाले यो सहमति गरेको र यो सहमति अनुसार रकम फिर्ता दिनुको अर्थ कलेजले भर्नामा गरेको गल्ती लगायत कुनै गलत काम गरे वापत नभई असलमनले गरेको उल्लेख गरेर हस्ताक्षर गराएको छ।
सहमतिमा विद्यार्थी वुलविचमा भएको भर्ना रद्द गर्न राजी भएको, द ब्रिटिस कलेजको दबाबमा नभई आफ्नै इच्छाले सो निर्णय गरेको उल्लेख गरेको छ। नौ लाख ५० हजार रकम फिर्ता दिनुको कारण विद्यार्थीले कोर्ष सकिनु अगाडि नै पढाई रद्द गर्न चाहेको कारण उल्लेख गरेको छ। सहमतिमा सो रकम भुक्तानी गरेपछि द ब्रिटिस कलेजको कुनै थप आर्थिक दायित्व नहुने सर्त समेत राखिएको छ।
सम्झौतामा यदि विद्यार्थी र अभिभावकले थप रकम माग्न नपाइने, ब्रिटिस कलेज विरुद्धको कुनै कानुनी प्रक्रियामा सहभागी हुन नहुने, सम्झौता पत्र कतै सार्वजनिक गर्न नपाइने, सम्झौताबारे प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कतै उल्लेख गर्न नपाइने सर्त राख्दै यदि यी सर्तको उलङ्घन भएमा कलेजले स्वीकार गरेको रकम फिर्ता नदिने उल्लेख गरेको छ।
यति मात्रै हैन सहमति पत्रमा ब्रिटिस कलेज, वुलविच इन्स्टिच्युट र यसका कुनै पनि स्टाफ विरुद्ध पीडित विद्यार्थी र उनका अभिभावकले कुनै लिखित वा मौखिक धारणा सार्वजनिक गर्न नपाउने, कुनै पनि सामाजिक सञ्जालमा पोस्ट राख्न र कुनै पनि विरोध प्रदर्शन, क्याम्पेन वा अन्य अभियानमा सहभागी हुन नहुने सर्त समेत राखेको छ।
सहमति पत्रमा यो सम्झौता लगत्तै विद्यार्थी र उनका अभिभावकले सामाजिक सञ्जालमा कलेज र स्टाफ विरुद्ध राखेका सामग्री तत्काल हटाउनुपर्ने सर्त समेत राखेको छ।
कँडेल समूहको फैलिएको जालो : स्कुलदेखि रियलस्टेटसम्म
विद्यार्थी ठगी र शोषणमा जोडिएको नेपालमा द ब्रिटिस कलेज अनि दुबइको वुलविच इन्स्टिच्युट द कँडेल ग्रुप अन्तर्गतका हुन्। द कँडेल ग्रुपको आधिकारिक वेभसाइटमा उल्लेख भए अनुसार यो समूहको बेलामा द वुलविच कलेज लन्डन पनि छ। यो एकेडेमिक नभई भोकेसनल तालिम दिने संस्था हो।
यही समूहले रुपन्देहीमा नमस्ते एकेडेमी चलाइरहेको खुल्यो। कुपन्डोलमा रहेको वेस्टमिनिस्टर कलेज पनि यही समूहकै हो। वेभसाइटमा ब्रिटिस मोडल कलेजसमेत उल्लेख छ। तर लिंक द ब्रिटिस कलेजको खुल्छ। ब्रिटिस प्रोफेसनल कलेज पनि ब्रिटिस कलेजसँगै लिंक गरिएको छ। यो अलग देखिएन।
बेलायतमा यो समूहको इटिच वर्क नामको आइटी कम्पनी रहेको देखिन्छ। यो समूहले नेपाली पत्र नामक अनलाइन पोर्टल समेत चलाएको देखिन्छ।
बेलायतमा यसको निम ट्री फार्मेसी, वुलविच लेटनाइट फार्मेसी, भरतपुरमा मदरल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कुल, बेलायतमा याक एन्ड यती रेस्टुरेन्ट, द कँडेल स्टेट, द कँडेल फाउन्डेसन र रुपन्देहीमै ब्रिटिस ग्रामर स्कुल रहेको छ।
सम्बन्धित समाचार
पुष १४, २०८२ सोमबार १७:२८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।