धरौटी बुझाएर छुटे शेयर कारोबारी दीपेन्द्र अग्रवाल

धरौटी बुझाएर छुटे शेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं : झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी जमानत बुझाएर छुटेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अग्रवालसँग ४९ लाख १९ हजार रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो। उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो। बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ। धितो पत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनियतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ।

प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ। साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ।

यसअघि हिरासतमै रहँदा अग्रवालले बोर्ड अध्यक्षमाथि छानबिनको माग गर्दै भोक हडतालसमेत गरेका थिए। अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परिसकेको सिआइबीले जनाएको छ।

पुष १४, २०८२ सोमबार १५:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।