नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश र बढुवा लिएको आरोपमा एक जना प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ दरबन्दी भई कलङ्कीमा कार्यरत रही हाल सेवानिवृत्त भइसकेका प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध आयोगले आइतबार आरोपपत्र दायर गरेको हो।

भट्टले प्रहरी जवान पदमा नियुक्त हुँदा र पछि प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुँदा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्लीबाट जारी भएको भनिएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

उनले सन् १९९१ को सिनियर स्कुल सर्टिफिकेट परीक्षा उत्तीर्ण गरेको भनी पेस गरेको रोल नम्बर ६६००५७ को लब्धाङ्क पत्र र प्रोभिजनल सर्टिफिकेट नक्कली भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

नक्कली प्रमाणपत्रकै आधारमा २०५० साल चैत २० गते प्रहरी जवानमा नियुक्ति लिई बढुवा हुँदै असईसम्म पुगेका भट्टले हालसम्म नेपाल सरकारबाट निवृत्तभरण (पेन्सन) सहितको हैसियत र सुविधा लिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ।

निजको यो कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनीविरुद्ध कैद र जरिवानाको सजाय माग गरेको छ।

अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, भट्टले नक्कली प्रमाणपत्र पेस गरी व्यक्तिगत लाभ लिएको उजुरीका आधारमा अनुसन्धान गर्दा दोषी देखिएपछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

पुष १४, २०८२ सोमबार १४:०५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।