‘आ बाट आमा’को गीत गाउने वा अभिनय गर्नेलाई ५० हजार जित्ने मौका
काठमाडौं : प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ निर्माण पक्षले ५० हजार रुपैयाँ पुरस्कार राशिसहितको ‘कभर सङ’ तथा अभिनय प्रतियोगिता घोषणा गरेको छ।
निर्माण टिमले सोमबार फिल्मको शीर्ष गीत ‘लैजा खबर ए हावा’मा आधारित रहेर टिकटक प्रतियोगिताको घोषणा गरेको हो।
प्रतियोगितामा सहभागी हुन चाहनेले उक्त गीतको कभर गाएर वा गीतमा अभिनय गरेर भिडियो बनाउन सक्नेछन्। सहभागीहरूले आगामी माघ १२ गतेभित्र आफ्नो भिडियो टिकटकमा अपलोड गरिसक्नुपर्नेछ।
निर्देशक चन्द्र पन्तका अनुसार तोकिएको समयसीमाभित्र ओएसआर डिजिटलको टिकटक अकाउन्ट (@osrdigitalnp) मेन्सन गरी अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिनेछ।
प्राप्त भिडियोहरूमध्येबाट उत्कृष्ट अभिनय वा गायन भएको भिडियो छनोट गरी माघ १४ गते विजेता घोषणा गरिनेछ। विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ।
निर्देशक पन्तकै लेखन तथा निर्देशन रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायतका कलाकारहरूको मुख्य भूमिका छ।
फिल्मको शीर्ष गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ भने नवराज उप्रेतीले छायांकन गरेका छन्।
करण सिंह रसाली कार्यकारी निर्माता रहेको फिल्मको नेपालभरको प्रदर्शन अधिकार आरआर फिल्म्स र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
पुष १४, २०८२ सोमबार १३:५९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।