जेनजी प्रदर्शनका क्रममा नख्खु जेलबाट भागेका कैदी मोरङमा पक्राउ

जेनजी प्रदर्शनका क्रममा नख्खु जेलबाट भागेका कैदी मोरङमा पक्राउ

किमाथाङ्का : जेनजी प्रदर्शनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सङ्खुवासभाको चिचिला गाउँपालिका-५ का २९ वर्षीय टीकाराम विश्वकर्मा (अमित) रहेका छन्।

उनलाई मोरङको बेलबारी नगरपालिका-४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

जबरजस्ती करणी मुद्दामा २०७५ पुस २७ गतेदेखि नख्खु कारागारमा कैद भुक्तान गरिरहेका विश्वकर्मा गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा जेलबाट भागेका थिए।

पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको प्रहरीले जनाएको छ। सङ्खुवासभा प्रहरीले जेनजी प्रदर्शनका क्रममा भागेका हालसम्म सात जना कैदीलाई पक्राउ गरिसकेको जनाएको छ।

पुष १४, २०८२ सोमबार १२:२२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।