गाडी बुझाएको हो, राजीनामा हैन : उपसभामुख रानामगर

गाडी बुझाएको हो, राजीनामा हैन : उपसभामुख रानामगर

काठमाडौं : उपसभामुख इन्दिरा रानामगरले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेकी छन्। विभिन्न सञ्चारमाध्यममा राजीनामा दिएको भनी समाचार आएपछि उनले त्यसको खण्डन गर्दै आफूले सरकारी सेवा-सुविधा मात्र त्यागेको बताइन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मनोनयन प्रक्रिया सुरु भएसँगै नैतिक रूपमा सरकारी सुविधा लिन उपयुक्त नठानेर आइतबार सरकारी गाडी फिर्ता गरेको उनले  जानकारी दिइन्।

‘मैले गाडी बुझाएको हो, राजीनामा बुझाएको छैन,’ उनले भनिन्, ‘समानुपातिकतर्फको मनोनयन दर्ता सुरु भयो। संसद् पनि चलेको छैन । यस्तो अवस्थामा सरकारी सुविधा किन लिने भनेर गाडी बुझाएको हुँ।’

गाडी फिर्ता गरेको विषयलाई बङ्ग्याएर राजीनामा दिएको भनी प्रचार गरिएकोप्रति उनले असन्तुष्टि जनाइन्।

‘गोरखापत्र र केही अनलाइनहरूले राजीनामा दियो भनेर लेखे । पुष्टि नै नगरी यस्तो समाचार आउँदा दुःख लाग्यो’, उनले भनिन्

जनतालाई सकारात्मक सन्देश दिन गाडी फिर्ता गरे पनि सचिवालयबाट गाडी मर्मत गरेर मात्र बुझाउन दबाब आएको उनले गुनासो गरिन्।

‘गाडी बुझाउँदा जस्तो लगेको हो, त्यस्तै बनाएर बुझाउन भनिएको छ। मसँग गाडी बनाउने पैसा छैन,’ उनले भनिन्, ‘मैले सरकारले गर्न नसकेको काम गरेको छु। तर, मलाई नै तमासा बनाउने र केही शक्ति मिलेर दबाउने प्रयास भइरहेको छ।’

नेपालको संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने दिनसम्म कायम रहने व्यवस्था छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी रानामगरले सोही प्रावधानअनुसार पदमा रहँदा-रहँदै सुविधा मात्र त्यागेको प्रस्ट पारेकी छन्।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आज र सोमबारका लागि समय निर्धारण गरेको छ।

विगतको अभ्याससमेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गरेको जनाइएको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार गत निर्वाचनका समयमा सभामुख रहेका अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदाइ लिएका थिए। सोही अभ्यासअनुसार वर्तमान सभामुखले काम गर्नसक्ने उनले बताए।

पुष १४, २०८२ सोमबार ११:४२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।