३३औं त्रिवेणी कप डिशहोमको ‘एक्सन स्पोर्ट्स’बाट प्रत्यक्ष प्रसारण
बेसीशहर : लमजुङको सदरमुकाम बेसीशहरमा जारी ‘३३औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता’ ‘डिशहोम गो’ एप र ‘एक्सन स्पोर्ट्स एचडी १’ टेलिभिजन च्यानल मार्फत प्रत्यण प्रसारण भइरहेको छ।
पुस १२ गतेदेखि सुरू भएको प्रतियोगितामा देशभरका १६ वटा फुटबल क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
बेसीशहरको सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले ६ लाख रुपैयाँ हात पार्नेछ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा एपीएफ एफसी, एनआरटी, चर्च ब्वाइज युनाइटेड र सातदोबाटो एफसीजस्ता चर्चित ‘ए’ डिभिजन क्लबहरूसहित १६ टिम सहभागी हुनेछन्।
सहभागी अन्य टिमहरूमा आयोजक त्रिवेणी युथ क्लब, सुन्दरबजार एफसी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी र बुद्ध युवा क्लब रहेका छन्।
आयोजकले फुटबलप्रेमी दर्शकहरूलाई बेसीशहरमै पुगेर वा डिशहोमको माध्यमबाट खेलको मज्जा लिन अनुरोध गरेको छ।
पुष १४, २०८२ सोमबार ०९:३९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।