टिकटक विवाद : चिनियाँ कानुनको पालना र सबै पक्षको हित हुने समाधानको खोजीमा चीन

टिकटक विवाद : चिनियाँ कानुनको पालना र सबै पक्षको हित हुने समाधानको खोजीमा चीन

काठमाडौं : टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विवादमा चीनले आफ्ना कानुन र नियमको पालना गर्दै सबै पक्षलाई मान्य हुने समाधान चाहेको स्पष्ट पारेको छ।

टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको समाचार सार्वजनिक भएसँगै चिनियाँ वाणिज्य मन्त्रालयको यस्तो प्रतिक्रिया आएको हो।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले सम्बन्धित कम्पनीहरूले चिनियाँ कानुनको परिधिभित्र रही सबै पक्षको हित हुने निकास निकाल्ने अपेक्षा चीनले गरेको बताए।

प्रवक्ता योङछियानका अनुसार, चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन संवादपछि दुवै देशका आर्थिक र व्यापारिक टोलीहरूले टिकटकको विषयलाई आपसी समझदारी र शान्तिपूर्ण तवरले सुल्झाउने प्रारम्भिक सहमति गरेका छन्।

प्रवक्ता योङछियानले अमेरिकाले पनि चीनसँग सहकार्य गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरे। उनले चिनियाँ कम्पनीहरूलाई अमेरिकामा निष्पक्ष, खुला र भेदभावरहित व्यावसायिक वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए।

टिकटकसम्बन्धी विषयको उचित समाधानले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ स्थिर र दिगो बनाउन मद्दत पुग्ने चीनको धारणा छ।

पुष १४, २०८२ सोमबार ०९:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।