अमेरिकाको न्युजर्सीमा दुई हेलिकप्टर आकाशमै ठोक्किए : एक पाइलटको मृत्यु, अर्का गम्भीर घाइते
एजेन्सी : अमेरिकाको न्युजर्सी राज्यस्थित ह्यामोन्टनमा आइतबार दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको छ। यो दुर्घटनामा एक जना पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट गम्भीर घाइते भएका छन्।
अधिकारीहरूका अनुसार दुवै हेलिकप्टरमा पाइलट मात्र सवार थिए। घाइते पाइलटलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
ह्यामोन्टन प्रहरीका अनुसार आइतबार बिहान करिब ११:२५ बजे दुर्घटनाको खबर प्राप्त भएको थियो।
घटनास्थलको भिडियो फुटेजमा एउटा हेलिकप्टर फन्को मार्दै (तीव्र गतिमा घुम्दै) जमिनमा खसेको देखिन्छ। ठोक्किएपछि एउटा हेलिकप्टरमा आगो लागेको थियो, जसलाई प्रहरी र दमकलको टोलीले निभाएको थियो।
सङ्घीय उड्डयन प्रशासन (एफएए)का अनुसार यो दुर्घटना ह्यामोन्टन म्युनिसिपल एयरपोर्टको ठीक माथि भएको हो। दुर्घटनामा ‘एनस्ट्रोम एफ-२८ए’ र ‘एनस्ट्रोम २८०सी’ मोडलका हेलिकप्टरहरू परेका थिए।
यस घटनाको एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गर्नेछन्। विज्ञहरूका अनुसार सुरुवाती जाँचमा दुई पाइलटबीच सञ्चार सम्पर्क भएको थियो वा थिएन र उनीहरूले एक-अर्कालाई देख्न सकेका थिए कि थिएनन् भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान गरिनेछ।
पुष १४, २०८२ सोमबार ०८:२५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।