रौतहटमा प्रतिनिधिसभा निर्वाचनको तयारी : १८ मतदान केन्द्र र एक स्थल थप, २१ हजार मतदाता बढे

रौतहटमा प्रतिनिधिसभा निर्वाचनको तयारी : १८ मतदान केन्द्र र एक स्थल थप, २१ हजार मतदाता बढे

चन्द्रपुर : आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा मतदान केन्द्र र मतदानस्थल थप गरिएको छ।

२०७९ सालको निर्वाचनको तुलनामा मतदातालाई थप सहज बनाउन जिल्लामा एक मतदानस्थल र १८ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार विसं २०७९ को निर्वाचनमा जिल्लामा ५२३ मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा थप गरी ५४१ कायम गरिएको छ।

यस्तै, मतदानस्थलतर्फ पनि परिवर्तन भएको छ। २०७९ सालमा २७६ वटा मतदानस्थल रहेकोमा यसपटक गरुडा नगरपालिका-६ मा नयाँ स्थल थप गरी जम्मा २७७ मतदानस्थल कायम गरिएको प्रमुख दासले जानकारी दिए।

मतदान केन्द्रसँगै जिल्लामा मतदाताको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । कार्यालयका अनुसार जिल्लामा २१ हजार १५६ जना नयाँ मतदाता थपिएका छन्। विसं २०७९ मा ४ लाख १५ हजार ४५५ मतदाता रहेकोमा अहिले कुल मतदाता सङ्ख्या ४ लाख ३६ हजार ६११ पुगेको छ।

दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १५७ वडा रहेका छन्।

स्मरण रहोस्, विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं १ बाट तत्कालीन एकीकृत समाजवादीका माधवकुमार नेपाल, क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार किरण साह, क्षेत्र नं ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए।

उक्त निर्वाचनमा कुल मतदातामध्ये २ लाख ८२ हजार ४३० जनाले मतदान गरेका थिए।

पुष १४, २०८२ सोमबार ०७:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।