बालेन-रवि मिलनको साइडइफेक्ट : मधेसका दुई शक्ति महन्थ र उपेन्द्र पनि मिले, दल एकै, चुनाव चिन्ह एउटै
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकताको सहमतिको प्रभावले अन्य दलहरू पनि एकीकरणमा जुटेका छन्। पछिल्लो समय अलग अलग भएका मधेसका दुई प्रमुख शक्ति महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बिच समेत एकता हुने औपचारिक घोषणा भएको छ।
समानुपातिक सूची बुझाउने एक दिन अगाडि आइतबार बेलुका दुवै दलले एकताको सहमति गरेका हुन्। दुवै दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्याय जस्ता मुद्दाहरूलाई बलियो बनाउन एकता गरिएको उल्लेख छ।
विज्ञप्तिमा अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउन, न्यायपूर्ण समाज निर्माणको आवश्यकतालाई आत्मसात् गर्दै र पार्टीका आ-आफ्ना अडानहरूलाई त्यागेर साझा निष्कर्षमा पुग्न एकताको सहमति भएको उल्लेख छ।
चुनाव चिन्ह र नेतृत्वको टुंगो
सहमतिमा एकीकृत पार्टीको नाम र नेतृत्वको पूर्ण ढाँचाबारे केही टुङ्गिन बाँकी रहे पनि चुनाव चिन्ह र अध्यक्षताको विषयमा भने सहमति जुटेको छ। एक नेताका अनुसार एकीकृत पार्टीले निर्वाचन आयोगमा 'छाता' चिन्ह लिएर जाने सहमति गरेको छ। उपेन्द्र यादव र महन्थ ठाकुर समान हैसियतका अध्यक्ष रहने छन्।
२०७७ सालमा पनि यी दुई दल एकीकृत भएका थिए, तर २०७८ मा विभाजन भएर अलग-अलग चुनाव लडेका थिए। २०७९ को निर्वाचनमा फुटका कारण मधेसमा एमाले र कांग्रेस जस्ता ठूला दलहरूको वर्चस्व पुनः फर्किएको थियो।
२०७९ को नतिजामा जसपा तेस्रो र लोसपा पाँचौँ शक्तिमा खुम्चिएको थियो भने मधेसमा सिके राउतको जनमत पार्टी नयाँ शक्तीको रूपमा उदाएको थियो।
पुष १४, २०८२ सोमबार ०२:१५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।