रवि-बालेन एकतामा कुलमान छुटेकोमा सुधन असन्तुष्ट, मध्यरात प्रश्न गरे “एकताबद्ध गर्न चाहेको हो कि भ्रम छर्न?”
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङलाई छाडेर एकता गरेकोमा जेनजी अगुवा सुधन गुरुङले असन्तुष्टि जनाउँदै भ्रम मात्र छर्न लागेको हो भनेर प्रश्न गरेका छन्।
आइतबार मध्यरात एक बजे सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई अलग राखिएको हो या अलग रहन खोजेको हो त्यो समयले बताउने भन्दै म्याण्डेड सबै सँगै रहन दिएको उल्लेख गरेका छन्।
प्रमुख शक्तिहरू एक भएर उभिने अपेक्षामा रहे पनि कुनै पक्ष लिन बाध्य पार्न नहुने भन्दै उनले निर्णायक घडीमा कुलमान घिसिङलाई अलग भएको देखिनु परिवर्तन चाहनेहरूका लागि दुखद रहेको उल्लेख गरेका छन्।
उनले सरोकारवाला शक्तिहरूलाई अन्तिम क्षणमा कुनै पक्ष लिन बाध्य नपार्न अनुरोध गर्दै देशलाई विभाजन नभई एकता आवश्यक रहेको उल्लेख गरेका छन्।
“एउटा स्पष्ट प्रश्न उठ्छ... के तपाईँहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो?” उनले प्रश्न सोधेका छन्।
उनको फेसबुक सन्देश
यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौ.... कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ।
अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला! तर आजको समयले तपाईँहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ।
आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ... कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ।
त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ... के तपाईँहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो?
जेनजीले हेरिरहेको छ।
पुष १४, २०८२ सोमबार ०१:४६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।