बालेन समूहका उम्मेदवार समेट्न रास्वपाले सार्‍यो समानुपातिक सूचीको समय

बालेन समूहका उम्मेदवार समेट्न रास्वपाले सार्‍यो समानुपातिक सूचीको समय

काठमाडौं : बालेन शाह समूहका उम्मेदवारहरूलाई समानुपातिकमा समावेश गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रियाको समय सोमबारसम्म सारेको छ। रास्वपाले आइतबारसम्म पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारहरूको सूची टुङ्ग्याउने तयारी गरेको थियो।

शनिवार रातभरको छलफलपछि पार्टी सभापति रवि लामिछाने र बालेनबीच पार्टी प्रवेश गर्नेबारे सहमति भएको थियो। आन्तरिक छलफलमा समावेशी सूचीमा बालेनको समूहबाट ४० जनाको नाम समावेश गर्ने सहमति अनुसार नयाँ सूची बनाउन समानुपातिक सूची बनाउने समय सोमबार बिहान १० बजेसम्मका लागि सारेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

“हाल चालु रहेको प्रारम्भिक मतदानमा मतदाताहरूको अत्याधिक धेरै चाप रहेको हुँदा तोकिएको समयमा मतदान सम्पन्न हुन कठिन हुने देखिएकोले पार्टी सचिवालयबाट प्रारम्भिक मतदानको समय २०८२ पौष १४ गते बिहान १० बजेसम्मका लागि थप गर्ने निर्णय भएको” उनले जानकारी दिए।

पार्टीले समानुपातिक उम्मेदवार बन्न इच्छुकहरूको आवेदन मागेर उनीहरूसँग अन्तर्वार्ता गरेर आन्तरिक प्रतिस्पर्धा सुरु गरेको थियो। निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन आइतबार र सोमबारको समय दिएको छ। आइतबार नेपाल मजदुर किसान पार्टीसहित जम्मा तीन दलले मात्र समानुपातिक उम्मेदवारको सूची बुझाएका छन्।

पुष १३, २०८२ आइतबार १८:२८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।