रास्वपामा बालेनको हैसियत वरिष्ठ नेता, काठमाडौं क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चासो

रास्वपामा बालेनको हैसियत वरिष्ठ नेता, काठमाडौं क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चासो

काठमाडौँ : बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दा भएको सात बुँदे सहमतिमा पार्टीमा उनी र उनको समूहको पदीय हैसियत उल्लेख गरिएन। तर प्रारम्भिक छलफलदेखि नै बालेनले आफ्नो सर्तका रूपमा आफू बाहेक आफ्नो समूहकाहरु कसरी पार्टीमा कुन पद पाउँछन् भन्नेमा चासो राखेका थिए।

भावी प्रधानमन्त्रीमा बालेनलाई अगाडि बढाउनेबारे समस्या थिएन। तर पार्टीभित्र कसरी पदको बाँडफाँड गर्ने भन्ने विषय लम्बिँदा शनिवार रातभर छलफल भएर आइतबार बिहान मात्रै सहमति भएको थियो। आन्तरिक समायोजनका विषयमा सहमति पत्रमै उल्लेख गर्दा नकारात्मक सन्देश जाने भन्दै दुवै पक्ष ती विषय उल्लेख नगर्न सहमत भए र बालेनको हैसियतबारे मात्र उल्लेख गरियो।

छलफलमा संलग्न स्रोतले दिएको जानकारी अनुसार सहमतिमा बालेन संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढाउने सहमतिमा उल्लेख गरियो। योसँगै उनी पार्टीमा रवि लामिछानेपछिको वरिष्ठ नेताको हैसियतमा रहने समेत सहमति भएको छ। त्यो भने सहमति पत्रमा उल्लेख गरिएन।

"सह अध्यक्ष वा वरिष्ठ उपसभापतिको रूपमा बालेनलाई केन्द्रीय समितिमा समेट्नेबारे छलफल भएको थियो। तर बालेनले त्यसमा रुचि देखाएनन्। अन्तिममा उनलाई वरिष्ठ नेताको रूपमा रविपछिको दोस्रो वरियता दिने सहमति भयो" छलफलमा सहभागीस्रोतले उकेरालाई भन्यो।

आफूसँगै आफ्नो समूह र जेनजी अगुवाहरूलाई समेत रास्वपामा समेट्नुपर्ने भन्दै बालेनले समानुपातिकदेखि प्रत्यक्ष निर्वाचन र केन्द्रीय समितिमा समेत उपस्थिति खोजेका थिए। त्यसको विकल्पमा समानुपातिकमा बालेनको तर्फबाट ४० जना समेट्ने सहमति भयो। प्रत्यक्ष निर्वाचनमा पनि ४०-६० को अनुपातमा जाने समझदारी भएको स्रोतको दाबी छ।

पार्टीमा सहभागी हुने उनको समूहका सदस्यहरूलाई केन्द्रीय समितिदेखि विभागहरूमा सम्मानजनक स्थान दिन रवि सहमत भएका छन्। तर केन्द्रीय समितिमा यति नै सङ्ख्यामा बालेनको प्रतिनिधित्व हुने भन्ने सहमति भएको छैन।

"बालेनको मुख्य चासो समानुपातिक र प्रत्यक्ष निर्वाचनमा आफ्नो समूहकाहरुबाट हुनसक्ने उम्मेदवारीबारे थियो। पार्टीभित्रको संरचनामा उनले त्यति धेरै चासो देखाएनन्" छलफलमा सहभागी स्रोतले भन्यो "आउने साथीहरूको योग्यता अनुसारको जिम्मेवारी दिने भन्ने समझदारी छ।"

बालेनको चासो काठमाडौँ-२ मा

बालेनले फागुन २१ को निर्वाचनमा झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने रहर बताउने गरेका छन्। तर रास्वपासँगको छलफलमा भने उनले काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारीमा चासो राखेका छन्। सो क्षेत्रबाट २०७९ को निर्वाचनमा सोविता गौतम प्रत्यक्ष प्रतिस्पर्धामा निर्वाचित भएकी थिइन्।

बालेनले रविसहितको छलफलमा काठमाडौं क्षेत्र नम्बर २ बारे चासो राखेपछि रास्वपा टिमले बालेनले प्रतिस्पर्धाका लागि जुन निर्वाचन क्षेत्र चयन गरे पनि पार्टीले स्वीकार गर्ने र सो क्षेत्रका आकांक्षीलाई अन्य क्षेत्रमा स्थानान्तरण गर्ने वचन दिएको स्रोतको दाबी छ।

पुष १३, २०८२ आइतबार १७:१९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।