निर्वाचन आचार संहिता आयो : एआइको प्रयोगमा कडाइ, हेलिकप्टर र सवारी सीमित
काठमाडौं : सवारीसाधनको प्रयोग र खर्चको सीमा कस्दै निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 'निर्वाचन आचारसंहिता, २०८२' स्वीकृत गरेको छ। आयोगले एआई नियमनदेखि निर्वाचन चिह्न वा झन्डा अंकित टोपी, टिसर्ट, ज्याकेट, मास्क, लकेट वा झोला जस्ता सामग्री बनाउन र लगाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
आयोगको आइतबार बसेको बैठकले उक्त आचारसंहिता स्वीकृत गरेको हो। संहिता माघको पहिलो साताबाट कार्यान्वयनमा आउनेछ ।
आयोगले यस पटकको आचारसंहितालाई 'कारबाहीको मोडल' मा तयार पारिएको र यसको दायरा पहिलेभन्दा फराकिलो बनाइएको दाबी गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, तत्काल आचारसंहिता लागु गर्दा सरकारका नियमित काममा बाधा पुग्न सक्ने भएकाले निर्वाचन हुनु करिब ५०-५५ दिनअघि (माघ पहिलो साता) बाट मात्र यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ।
सवारी साधन प्रयोगमा कडाइ
-सीमित सवारी साधन : उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका लागि अनुमति लिएर बढीमा दुईवटा मात्र हलुका सवारी साधन (दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे) प्रयोग गर्न पाउनेछन्।
-दुर्गम क्षेत्रमा विकल्प: सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ।
-मतदाता ओसारपसारमा रोक: अनुमति प्राप्त सवारी साधनबाट मतदाता ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। तर, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, र ज्येष्ठ नागरिकका लागि विशेष अनुमतिमा सवारी प्रयोग गर्न पाइनेछ।
-विदेशी प्लेट निषेध: निर्वाचन प्रयोजनका लागि विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति दिइने छैन।
हेलिकप्टर र मुख्य प्रचारक
-राजनीतिक दलले बढीमा दुई जना 'मुख्य प्रचारक' को नाम आयोगमा बुझाउनुपर्नेछ र उनीहरूले मात्र हेलिकप्टर प्रयोग गर्न पाउनेछन्।
-हेलिकप्टरको खर्च दल वा उम्मेदवारले पाउने कुल खर्चको सीमाभित्रै रहनुपर्नेछ।
सामाजिक सञ्जाल र प्रविधिको नियमन
-भ्रामक सूचनामा रोक: फेसबुक, ट्विटर (X), युट्युब लगायतका माध्यमबाट कसैको चरित्र हत्या हुने, द्वेषपूर्ण वा भ्रामक सामग्री सम्प्रेषण गर्न पाइने छैन।
-एआईको दुरुपयोग: आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर निर्वाचनलाई प्रभाव पार्ने गरी गलत सूचना फैलाउन वा 'फेक एकाउन्ट' सञ्चालन गर्न निषेध गरिएको छ।
-मर्यादित प्रचार: उम्मेदवारले आफ्ना आधिकारिक पेजमार्फत नीति र विचारहरू मर्यादित ढंगले राख्न भने पाउनेछन्।
प्रचार सामग्री र जुलुसमा प्रतिबन्ध
-पोसाक र लोगो: निर्वाचन चिह्न वा झन्डा अंकित टोपी, टिसर्ट, ज्याकेट, मास्क, लकेट वा झोला जस्ता सामग्री बनाउन र लगाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
-झन्डाको सीमा: जुलुस वा आमसभामा बढीमा १० वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न पाइनेछ।
-बालबालिकाको प्रयोग: निर्वाचन प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्न पाइने छैन 8।
-धार्मिक निषेध: कुनै पनि धर्मको नाममा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन।
अनुगमन र कारबाही
-आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन समिति र टोलीहरू गठन गरिनेछ।
-नियम उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने र गम्भीर अवस्थामा उम्मेदवारी नै रद्द गर्नेसम्मको कारबाही हुने चेतावनी आयोगले दिएको छ।
पुष १३, २०८२ आइतबार १६:४८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।