फिल्म चल्न ‘फण्डा’ नै चाहिने हो ? ‘मुगलान’को सुनसान प्रदर्शन
काठमाडौं : नेपाली चलचित्र उद्योगमा एउटा परम्परा जस्तै बनेको छ- फिल्म चलाउन ‘फण्डा’ चाहिन्छ। व्यावसायिक सफलतामा प्रचारप्रसारको शैलीको ठूलो भूमिका पनि हुन्छ। त्यसैले होला, स्थापित कलाकारहरू पनि फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा विभिन्न चर्चा, गसिप वा स्टन्टमार्फत दर्शकको ध्यान तान्ने गर्छन्।
नाम चलेका कलाकारहरूले आफ्नो फिल्म प्रदर्शनको क्रममा विभिन्न तरिकाले मिडियामा चर्चा बटुल्ने गरेको पाइन्छ। कहिले व्यक्तिगत सम्बन्धका प्रसङ्ग त कहिले विवादित अभिव्यक्तिमार्फत उनीहरूले दर्शक र मिडियाको ध्यान केन्द्रित गराउँछन्, जसले अन्ततः चलचित्रको ‘हाइप’ बनाउन मद्दत पुग्छ।
तर, अभिनेता प्रभात पाल ठकुरी भने यस्ता प्रचारमुखी शैलीभन्दा भिन्न र शान्त ढंगले आफ्नो काममा केन्द्रित देखिन्छन्। उनी प्रचारमुखी फण्डा वा गसिप जस्ता गतिविधिबाट टाढा छन्। प्रचारमुखी शैली नअपनाएको अभिनेता प्रभातको पछिल्लो चलचित्र ‘मुगलान’ भने बक्स अफिसमा ओझेलमा परेको छ।
‘डिसेम्बर फल्स’मार्फत नेपाली चलचित्रमा डेब्यु गरेका उनले यसअघि प्रकाश सपुतको लेखन तथा निर्देशन रहेको फिल्म ‘वसन्त’मा सहायक अभिनेताका रूपमा काम गरेका थिए। हाल प्रदर्शनमा रहेको ‘मुगलान’ मा भने उनी मुख्य भूमिकामा देखिएका छन्। म्युजिक भिडियोमा स्थापित मोडल स्मारिका ढकाल र प्रभातको जोडीलाई यस फिल्मले पर्दामा उतारेको छ।
यद्यपि, गत शुक्रबारबाट हलमा प्रदर्शनमा आएको यो चलचित्रले न त पर्याप्त मिडिया कभरेज पाउन सक्यो, न त दर्शकलाई नै हलसम्म आकर्षित गर्न सफल भयो। म्युजिक भिडियोमा रुचाइएका प्रभात र स्मारिकालाई ठूलो पर्दामा सोचेअनुरूप सफलता प्राप्त नहुने देखियो।
प्रतिस्पर्धी र प्रचारमुखी बन्दै चलचित्र बजारमा चलचित्रको सशक्त मार्केटिङ र चर्चा निर्माण गर्न नसक्दा केही सशक्त फिल्महरू दर्शकको पहुँचबाट टाढा रहन पुगेका छन्। अभिनेता प्रभातका लागि आगामी दिनमा आफ्नो अभिनय सीपसँगै चलचित्रलाई दर्शकसम्म पुर्याउने रणनीतिमा पनि ध्यान दिनुपर्ने चुनौती देखिएको छ।
पुष १३, २०८२ आइतबार १५:०६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।