वैकल्पिक ध्रुवीकरण : रास्वपामा बालेन दोस्रो वरियताको नेता, लगातारको प्रयासपछि पनि छुटे कुलमान

वैकल्पिक ध्रुवीकरण : रास्वपामा बालेन दोस्रो वरियताको नेता, लगातारको प्रयासपछि पनि छुटे कुलमान

काठमाडौं : नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा दल, व्यक्ति र समूहहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास सफल हुँदै गएको छ। लामो समयदेखिको संवाद र गृहकार्यपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'बीच एकताको विषयमा आइतबार बिहान ७ बुँदे सहमति भयो।

केही दिनदेखि जारी सघन छलफल आइतबार बिहान समझदारीमा टुङ्गिएको थियो। तर, रवि र बालेनबीच एकताको सहमति हुँदा छलफलमा रहेको अर्को दल उज्यालो नेपाल छुटेको छ। यद्यपि आगामी प्रतिनिधि सभाको निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने गरी रास्वपा र बालेनबीच एकताको सहमति भएको छ। 

एकताका सन्दर्भमा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा "बालेन्द्र शाह: अब रास्वपा नेता" भनेर लेखेका छन्। उनले भनेका छन्, ''आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकतासम्बन्धी सहमति भएको छ।"

एकता प्रक्रियामा हस्ताक्षर गरेलगत्तै सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले पनि सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो भएको दाबी गरेका थिए। उनले लेखेका छन्, 'सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।'

यता बालेनले पनि शुभप्रभात क्याप्सन राखेर सहमति पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर आफ्ना शुभेच्छुक र समर्थकलाई एकताको सन्देश प्रवाह गरे। रास्वपाका एक नेताका अनुसार बालेन पार्टीको मर्यादाक्रममा दोस्रो वरीयतामा रहनेछन्। 

बालेन दोस्रो वरीयता रहने भएपनि उनी हाल केन्द्रीय सदस्यका रूपमा रहने छन्। उनको तर्फबाट प्रतिनिधिहरू थप गरी केन्द्रीय समितिलाई पूर्णता दिइने समझदारी भएको छ। सहमतिमा उल्लेख भएअनुसार आगामी संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारिनेछ।

पार्टीमा 'जेन-जी' आन्दोलनमा सहभागी युवा, अनुभवी विज्ञ र विभिन्न अभियानमा आबद्ध व्यक्तिहरूलाई योग्यता र क्षमताका आधारमा उचित स्थान दिने दुवै पक्षबीच सहमति भएको छ। जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने छ। 

दुई पक्षबीच भएको सहमति अनुसार एकीकृत पार्टीको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' नै रहनेछ भने चुनाव चिह्न 'घण्टी' र साबिककै झन्डा कायम रहनेछ। एकतालाई पूर्णता दिई छिट्टै निर्वाचन आयोगमा विवरण अद्यावधिक गरिने समझदारी भएको छ।

सम्झौतामा छुटे कुलमान घिसिङ

एकता प्रक्रियामा उज्यालो नेपाल पार्टीलाई पनि समेट्ने प्रयास भएको थियो। उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र मेयर बालेनबीच पटक-पटक वार्ता समेत भएको थियो। रास्वपासँग एकता नहुँदा बालेनले कुलमानसँग एकता गरेर चुनावमा जाने तयारी थालेका थिए। सहकारीको बचत रकम ठगी तथा संगठित अपराध मुद्दामा रास्वपा सभापति लामिछाने थुनामा रहँदा कुलमानले बालेनको समर्थनमा उज्यालो नेपाल खोलेको चर्चा पनि भएको थियो। 

तर, पछिल्लो समय एकताको प्रयासले सफलता नपाउँदा बालेन आफ्नै दल देश विकास पार्टी अघि बढाउने मनस्थितिमा पुगेका थिए। त्यसको लागि उनले कार्यालय व्यवस्थापनको काम समेत अघि बढाएका थिए। रास्वपासँग एकता नभए पनि कुलमानसँग एकता गर्ने उनको तयारी थियो। 

तर, अन्तिम समयमा बालेनले रास्वपासँग एकताको सहमति गरेपछि कुलमान छुटेका छन्। उज्यालो नेपालको केन्द्रीय समितिको बैठकले सबै राजनीतिक दलको सहअस्तित्व स्थापित हुने गरी मात्रै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको थियो। रवि र बालेनलाई क्रमशः सभापति र प्रधानमन्त्रीको उम्मेदवार मान्ने मोडालिटीमा असहमति जनाएपछि एकता समीकरणमा फेरबदल आएको बताइन्छ।

कुलमान घिसिङ नेतृत्वको समूहले आफ्नो अस्तित्व र सम्मानजनक उपस्थितिको विषयलाई प्राथमिकता दिएपछि उनी तत्कालको यो समझदारीमा सामेल नभएको देखिन्छ। तर, सहमतिको बुँदामा अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत गोलबद्ध हुन आह्वान गरिएको छ, जसले उज्यालो नेपालसहितका दल, समूहसँग आगामी दिनमा थप एकताको प्रयास गरिने संकेत गर्छ।

रवि र बालेनबीचको भएको एकता सहमतिले नेपालको वैकल्पिक राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गर्ने सक्ने रूपमा हेरिएको छ। सहमति पत्रमा हस्ताक्षर हुँदा रास्वपाका तर्फबाट उपसभापतिहरू र अन्य पदाधिकारीहरू उपस्थित थिए भने बालेनको पक्षबाट उनका निकटतम सहयोगी र अभियानकर्मीहरूको उपस्थिति रहेको थियो।
 

पुष १३, २०८२ आइतबार १०:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।