समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आजबाट सुरु

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आजबाट सुरु

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबारबाट राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची पेस गर्दै छन्। निर्वाचन आयोगले पुस १३ र १४ गते कार्यालय समयभित्र उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा तोकेको छ।

निर्वाचनका अनुसार निर्वाचनमा सहभागी हुने दलहरूले न्यूनतम ११ देखि अधिकतम ११० जना उम्मेदवारको नाम समावेश गरी सूची पेस गर्नुपर्नेछ। बन्दसूची बुझाउन आयोगको केन्द्रीय कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

जनगणना २०७८ को प्रतिवेदनका आधारमा सरकारले समावेशी समूहको प्रतिशत पुनरावलोकन गरेसँगै आयोगले उम्मेदवारीमा नयाँ सङ्ख्या निर्धारण गरेको छ। ११० जना उम्मेदवारको सूची पेस गर्ने दलले खस आर्य ३३, आदिवासी जनजाति ३२, मधेसी १६, दलित १३, थारु ७ र मुस्लिम समुदायबाट ९ जना (कुल प्रतिशत मिलाएर) को प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ।

यस सूचीमा कम्तीमा ५२ जना महिला उम्मेदवार हुनु अनिवार्य गरिएको छ भने चार जना पिछडिएको क्षेत्रको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। न्यूनतम ११ जनाको सूची बुझाउने दलले पनि तोकिएबमोजिमका सबै क्लस्टरबाट प्रतिनिधित्व गराउँदै आठ जना महिलाको नाम समावेश गर्नुपर्नेछ।

आयोगका अनुसार पेस भएका सूचीमाथि पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। सूचीमा त्रुटि देखिएमा दलहरूले पुस २१ देखि २७ गतेसम्म संशोधन गरी पुनः पेस गर्न पाउनेछन्। उम्मेदवारले नाम फिर्ता लिन चाहेमा पुस २८ गतेको समय तोकिएको छ। दाबी विरोधका प्रक्रियाहरू पूरा गरी माघ २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। फागुन २१ गते देशभर एकै चरणमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ मतदान हुनेछ।
 

पुष १३, २०८२ आइतबार ०७:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।