बलत्कार मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

बलत्कार मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा : जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नवाजपुर गाउँपालिका-३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए।

सूचना अधिकारी पालले घटनापछि मानसिक तनावका कारण पीडितले चार महिनापछि गत वैशाख २ गते आफ्नै घर सल्काई आत्महत्या गरेकी जानकारी दिए। उनका अनुसार घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले फरार प्रतिवादीको खोजतलास तीव्र बनाएको थियो।

खोजतलासका क्रममा फरार प्रतिवादी भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा यही पुस ९ गते इलाका प्रहरी कार्यालय महेशपुरपाटार सिरहाबाट खटिएको प्रहरी टोलीले नेपाल-भारत सीमा नजिक नवाजपुर गाउँपालिका-३ झाँपडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपाटारमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए।

पुष १२, २०८२ शनिबार २२:०६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।