निर्वाचनमा जुट्न प्रधानमन्त्रीको आग्रह : 'म न्याय क्षेत्रको मान्छे, चुनाव गराउने कार्यादेश पूरा गर्छु'
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन अनिवार्य रहेको बताउँदै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई एकजुट हुन आग्रह गरेकी छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको विशेष छलफलमा उनले निर्वाचन सफल पार्नु सबैको साझा जिम्मेवारी भएकोमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' अपराह्न बालुवाटार पुगेका थिए।
छलफलको सुरुवातमै शीर्ष नेताहरूलाई स्वागत गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, 'यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौं।' उनले आफू प्रशासनिक कामभन्दा बढी निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारीमा केन्द्रित रहेको स्पष्ट पारिन्।
उनले निर्वाचनकै तयारीका लागि आफूसँग रहेका रक्षाबाहेकका अन्य मन्त्रालयहरू मन्त्रीहरूलाई जिम्मा लगाइसकेको जानकारी दिँदै नेताहरूसँग भनिन्, 'मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं। सबै यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ।'
सरकारले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक पर्याप्त स्रोत-साधनको व्यवस्था गरिसकेको भन्दै उनले सुरक्षा निकायको मनोबल उच्च रहेको दाबी गरिन्। निर्वाचनका लागि वातावरण अनुकूल बन्दै गएकोमा सन्तोष व्यक्त गर्दै उनले कुनै पनि अन्योलमा नपर्न आग्रह गरिन्।
'अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ,' प्रधानमन्त्री कार्कीले भनिन्।
पुष १२, २०८२ शनिबार १६:५९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।