बालुवाटारमा शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको छलफल : निर्वाचन र राजनीतिक स्थायित्व मुख्य एजेण्डा
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ। प्रधानमन्त्री कार्कीको पहलमा पहिलो पटक शीर्ष नेतृत्वसँग छलफल भएको हो।
बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि छलफलमा सहभागी छन्।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गर्ने र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई सहज बनाउने उद्देश्यले प्रधानमन्त्री कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएकी हुन्।
सरकारका प्रवक्ता खरेलका अनुसार 'जेनजी' आन्दोलनपछिको विकसित असहज राजनीतिक वातावरणलाई चिर्दै तोकिएकै मितिमा निर्वाचन गराउन सरकारले राजनीतिक सहमति खोज्न संवादमा जोड दिइरहेको छ। यसअघि उनी शीर्ष नेताहरूको निवासमै पुगेर सरकारको तर्फबाट वार्ताको वातावरण तयार गर्न सक्रिय थिए।
राष्ट्रपति कार्यालयमा भएको प्रारम्भिक छलफलपछि प्रधानमन्त्री कार्कीले आज शीर्ष नेताहरूलाई बालुवाटारमा आमन्त्रण गरेकी हुन्। गत २४ भदौमा 'जेनजी' आन्दोलन उत्कर्षमा पुगेपछि र सोही दिन प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर बाहिरिएपछि ओली पहिलो पटक सरकारी निवास बालुवाटार पुगेका छन्।
सरकारले आन्दोलनपछिको राजनीतिक शून्यता चिर्न र लोकतान्त्रिक प्रक्रियालाई ट्र्याकमा ल्याउन प्रमुख दलहरूसँग निरन्तर संवाद गर्ने नीति लिएको बुझिएको छ। बालुवाटार बैठकले निर्वाचनको सुनिश्चितता र साझा राजनीतिक एजेन्डामा ठोस सहमति जुटाउने अपेक्षा गरिएको छ।
पुष १२, २०८२ शनिबार १५:५८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।