अर्घाखाँचीमा प्रहरीको ‘सर्च’विरुद्ध विप्लव माओवादीद्वारा संघर्षको घोषणा, चारदिने आन्दोलनका कार्यक्रम सार्वजनिक

अर्घाखाँचीमा प्रहरीको ‘सर्च’विरुद्ध विप्लव माओवादीद्वारा संघर्षको घोषणा, चारदिने आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले अर्घाखाँचीको सितगङ्गा-११ स्थित जनकम्युनमा प्रहरीले गरेको सर्च अपरेसनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ।

शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो।

घोषित कार्यक्रम अनुसार नेकपा (माओवादी)ले पुस १२ गते देशव्यापी मशाल जुलुस प्रदर्शन, पुस १३ गते देशभर कोणसभा, पुस १४ गते विरोध प्रदर्शन र पुस १५ गते अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नेछ।

शुक्रबार प्रहरीले अर्घाखाँचीको सितगङ्गास्थित विप्लव नेतृत्वको माओवादीको ‘जनकम्युन’ मा छापा मारेको थियो। सो क्रममा प्रहरीले ठूलो मात्रामा विस्फोटक पदार्थ तथा हतियार बरामद गरेको दाबी गरेको छ।

प्रहरीका अनुसार सर्च अपरेसनमा दुई थान भरुवा बन्दुक, १४ वटा ग्रिनेड, १२ वटा डेटोनेटर, ३ वटा लन्चरजस्तो देखिने प्लास्टिकको पाइप, एउटा पाँच लिटरको प्रेसर कुकर बम, एउटा स्टिलको बम, ४ बन्डल बिजुलीको तार र ५०० ग्राम बारुद फेला परेको थियो।

विप्लव नेतृत्वको माओवादीले भने प्रहरीको उक्त कदमको घोर भर्त्सना गर्दै यसलाई राजनीतिक प्रतिशोध भनेको छ।

पुष १२, २०८२ शनिबार १३:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।