पाकिस्तानमा खैबर पख्तुनका मुख्यमन्त्री अफ्रिदीमाथि फेरि आक्रमण, भने- ‘देशमा अघोषित मार्शल ल’
एजेन्सी : पाकिस्तानको राजनीतिमा राजनीतिक प्रतिशोधको अर्को घटना सार्वजनिक भएको छ। शुक्रबार खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीमाथि पञ्जाब विधानसभामा सुरक्षाकर्मीहरूले दुर्व्यवहार तथा हातपात गरेका छन्।
इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)बाट मुख्यमन्त्री बनेका अफ्रिदी र उनका प्रतिनिधिमण्डलमाथि भएको यो आक्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सार्वजनिक भिडियोमा देखिएअनुसार मुख्यमन्त्री अफ्रिदी आफ्ना सहयोगीहरूसँग पञ्जाब विधानसभामा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गर्छन्। सो क्रममा उनका साथी फतेह उल्लाह बुर्कीले हस्तक्षेप गर्न खोज्दा सुरक्षाकर्मीहरू उनीमाथि जाइलाग्छन्।
सुरक्षा गार्डहरूले बुर्कीमाथि हातपात गर्दै सभाहलबाट बाहिर निकाल्ने प्रयास गरे पनि अन्य अधिकारीहरूको हस्तक्षेपपछि उनलाई छाडिएको थियो। पाकिस्तानी अधिकारीहरूले भने घटनामा कोही पनि गम्भीर घाइते नभएको दाबी गरेका छन्।
अफ्रिदीको आक्रोश: ‘यो लोकतन्त्र होइन, मार्शल ल हो’
घटनालगत्तै विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री अफ्रिदीले पाकिस्तानमा लोकतन्त्र खतरामा परेको बताएका छन्।
उनले भनेका छन्, ‘कुनै पनि लोकतान्त्रिक सरकारले यसरी व्यवहार गर्दैन; यो पूर्णतया मार्शल ल हो। पञ्जाबमा नक्कली सरकार छ, जसको काम केवल विपक्षीलाई धम्क्याउनु र तर्साउनु मात्र हो।’
उनले आफ्ना कार्यकर्ताहरूलाई लाहोर, चक्री र मन्डी बहाउद्दीनमा रोक लगाइएको, सवारी साधन नियन्त्रणमा लिइएको र सांसदहरूलाई समेत दुर्व्यवहार गरिएको आरोप लगाएका छन्।
राजनीतिक द्वन्द्वको पराकाष्ठा
अहिले पञ्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजको नेतृत्वमा पाकिस्तान मुस्लिम लिग (नवाज) को सरकार छ।
अर्कोतर्फ, खैबर पख्तुन प्रान्तमा इमरान खानको पीटीआईको सरकार छ। यी दुई पार्टीबीचको राजनीतिक तिक्तता पछिल्लो समय भौतिक आक्रमणसम्म पुगेको छ।
एक महिनामै दोस्रो आक्रमण
मुख्यमन्त्री अफ्रिदीमाथि भएको यो पहिलो दुर्व्यवहार होइन। यसअघि गत नोभेम्बर २८ मा रावलपिंडीको अदियाला जेलमा रहेका पार्टी अध्यक्ष इमरान खानलाई भेट्न जाँदा पनि प्रहरीले उनीमाथि अभद्र व्यवहार गरेको थियो।
त्यसबेला प्रहरीले उनको कपाल तानेर भुइँमा लडाएको दृश्य सार्वजनिक भएको थियो। मिडिया रिपोर्टहरूका अनुसार उक्त आक्रमण सेनाको आदेशमा भएको दाबी गरिएको थियो।
पुष १२, २०८२ शनिबार १०:५१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।