डडेल्धुराको आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

डडेल्धुराको आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

अमरगढी : डडेल्धुराको आलिताल गाउँपालिकामा जिप र अटो रिक्सा एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार राति करिब ८:३० बजे आलिताल गाउँपालिका-४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सोही दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका-३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख वरुणबहादुर सिंहका अनुसार घाइते थापामगरको जोगबुडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

दुर्घटनाको समयमा अटोमा चालकसहित तीन जना सवार थिए । घटनापछि अटो चालक गोपाल मगर फरार रहेका छन् भने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिपमा सवार तीनैजना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

पुष १२, २०८२ शनिबार ०८:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।