‘सुनियान सुनियान’ गायक मिक्ससिंह काठमाडौंमा, आज ‘क्लब नोभा’मा प्रस्तुति
काठमाडौं : अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन चर्चित पञ्जाबी गायक मिक्ससिंह काठमाडौं आइपुगेका छन्।
‘फेक न्यु इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ नाम दिइएको उक्त कार्यक्रममा सहभागी हुन उनी बिहीबार नै नेपाल आएका हुन्।
स्किलमाण्डु नेपालको आयोजनामा हुन लागेको यो कार्यक्रम शनिबार साँझ ठमेलस्थित ‘क्लब नोभा’ मा हुनेछ। आयोजकका अनुसार मिक्ससिंहले त्यहाँ करिब चार घण्टा आफ्ना चर्चित गीतहरूमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।
बिहीबार लाजिम्पाटस्थित होटल मनास्लुमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रममा पञ्जाबी भांगडा डान्ससहित १० वटा विशेष प्रस्तुति रहने जानकारी दिएको छ। कन्सर्टका लागि साधारण (जनरल) टिकट १ हजार, भीआईपी २ हजार र सामूहिक (ग्रुप) टिकट ५ हजार रुपैयाँ तोकिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै गायक मिक्ससिंहले आफ्नो सुपरहिट गीत ‘सुनियान सुनियान’ मा करिब ३० प्रतिशत प्रतिक्रिया (कमेन्ट) नेपाली फ्यानहरूबाट आएको देखेपछि नेपाल आउने तीव्र इच्छा जागेको बताए । उनले आफूलाई नेपाली संगीत मन पर्ने र सुन्ने गरेको समेत सुनाए ।
आफ्नो तीनदिने नेपाल बसाइका क्रममा उनले पशुपतिनाथ दर्शन र काठमाडौंका पुरातात्विक सम्पदाहरूको अवलोकन गर्ने योजना बनाएका छन् । साथै, मौसमले साथ दिएमा सगरमाथा आधार शिविर (बेस क्याम्प) सम्म पुग्ने सपना रहेको उनले बताए।
उनले भने, ‘हेरुँ यहाँको मौसमले कत्तिको साथ दिन्छ, त्यसैले मेरो सगरमाथा हेर्ने सपना निर्धारण गर्नेछ।’
गायक मिक्ससिंहले आफ्नो यो भ्रमणले नेपाली खाना र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
पुष १२, २०८२ शनिबार ०७:२९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।