विराजका छोराको ओरालो यात्रा, ‘१२ गाउँ’ चल्दा ५० लाख मागेका समीर ‘बलिदान’पछि गुमनाम
काठमाडौं : विराज भट्टले ठूलै तामझामका साथ आफ्नै निर्देशनमा छोरा समिर भट्टलाई ‘१२ गाउँ’ बाट नेपाली रजतपटमा उतारे।
एक्सन स्टार बाबुका छोराको एक्सन कस्तो होला भन्ने कौतूहलले दर्शक हलसम्म ओइरिए। नतिजा फिल्मले बक्स अफिसमा झण्डै १९ करोडको ग्रस कलेक्सन गर्यो। नेपाली फिल्म क्षेत्रमा नयाँ एक्सन स्टारको उदय भएको भन्दै मिडियामा हेडलाइनहरू बने।
यो सफलतासँगै समिरको भाउ पनि ह्वात्तै बढ्यो। ‘१२ गाउँ’ को सफलताले मात्तिएका समिरले आफ्नो पारिश्रमिक ५० देखि ७० लाख रुपैयाँसम्म तोकेको चर्चा बजारमा चल्यो। तर, यो हाई-फाइ डिमाण्ड लामो समय टिकेन।
दोस्रो फिल्म ‘बलिदान’ रिलिज भयो। न समिरको ‘स्टारडम’ चल्यो, न ‘प्रेम गीत’ का सफल निर्माता सन्तोष सेनको जादु। पहिलो फिल्ममा दर्शकले दिएको साथलाई ‘बलिदान’ मा निरन्तरता दिन सकेनन्।
फिल्मले बक्स अफिसमा ६ करोडको आँकडा पनि छुन सकेन। मिडियालाई खासै वास्ता नगर्ने बाबु-छोरा अन्ततः हल भिजिटमा समेत निस्किए, तर नतिजा उही रह्यो- फिल्म पत्तासाफ!
‘१२ गाउँ’ हिट हुँदा ५० लाखमा समिरलाई साइन गर्न तम्सिएका निर्माताहरू ‘बलिदान’ को हविगत देखेपछि तर्सिएका छन्। होम प्रोडक्सनबाटै ‘१२ गाउँ-२’ बनाउने हल्ला पिटाइए पनि अहिले त्यो सेलाएको छ।
अहिलेको दृश्य झन् रोचक छ। विराज भट्ट आफैँ अर्काको फिल्म ‘राम नाम सत्य’ मा अभिनय गर्न व्यस्त छन् भने छोरा समिर कतै गुमनाम छन्। ‘बलिदान’ ले निर्माताको गोजी भरेको भए समिरको हातमा फिल्मको लाइन लाग्थ्यो होला, तर दोस्रो फिल्ममै निर्मातालाई 'जोगी' बनाउने अभिनेतालाई ५० लाख तिरेर कसले लिने?
प्रश्न उठ्छ- निर्देशक बाबु आफैँ अर्काको फिल्ममा व्यस्त भएपछि अब बन्ला त ‘१२ गाउँ’ को सिक्वेल? वा ५० लाखको डिमाण्ड गर्ने ‘एक फिल्म हिट’ स्टारको कथा यत्तिकैमा सकिएला? समयले बताउला!
पुष ११, २०८२ शुक्रबार १४:२६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।