डाक्टरको चुनाव : पाँच वर्षमा १० हजार दरबन्दी थप्ने डा. बद्री रिजाल टिमको घोषणा

डाक्टरको चुनाव : पाँच वर्षमा १० हजार दरबन्दी थप्ने डा. बद्री रिजाल टिमको घोषणा

काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनमा डा. बद्री रिजालको नेतृत्वमा होमिएको ‘टिम बद्री’ ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो समूहले आफूले चुनाव जितेको खण्डमा आगामी पाँच वर्षभित्र १० हजारभन्दा बढी चिकित्सकको दरबन्दी थप गर्न सरकारी निकायमा दबाब दिने घोषणा गरेको छ।

डा. रिजालको नेतृत्वमा रहेको यो टिम लोकतान्त्रिक समूह (कांग्रेस निकट) को रूपमा चुनावी मैदानमा छ।

‘र्यापिड रेस्पोन्स टिम’ बनाउने योजना
डा. रिजाल नेतृत्वको टिमले चिकित्सकहरूको सुरक्षा, सम्मान र पेसागत हितलाई मुख्य एजेन्डा बनाएको छ। कार्यस्थलमा चिकित्सकहरूमाथि हुने आक्रमण र संकटको समयमा तत्काल सहयोग पुर्याउन ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी परिचालन गर्ने प्रतिबद्धता यो समूहले जनाएको छ।

टिमले अघि सारेका अन्य प्रमुख एजेन्डाहरूमा चिकित्सकहरूको पारिश्रमिक तथा सेवा सुविधा वृद्धि, दुर्गम भत्ता, अनुसन्धान भत्ता, जोखिम भत्ता र नन-प्राक्टिस भत्तालाई समयानुकूल बनाउन पहल गर्ने विषय समेटिएका छन्। साथै, वैज्ञानिक ड्युटी समय निर्धारण, मनोपरामर्शको व्यवस्था र शैक्षिक तथा अनुसन्धान कार्यमा वातावरण सिर्जना गर्ने विषय पनि प्राथमिकतामा राखिएको छ।

‘एकता र विश्वासको बलमा पेसागत मर्यादाको संरक्षण गर्दै नेपाल चिकित्सक संघलाई नयाँ उचाइमा पुर्याउनु नै हाम्रो साझा लक्ष्य हो,’ डा. रिजालले भने।

संघको नयाँ नेतृत्व चयनका लागि आगामी माघ २ र ३ गते काठमाडौँ उपत्यका बाहिर तथा माघ १५, १६ र १७ गते उपत्यकाभित्र मतदान हुँदैछ।

संघको केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सह-कोषाध्यक्षसहित सातै प्रदेशबाट १/१ जना उपाध्यक्ष (प्रादेशिक संयोजक) र ६ जना सदस्य रहने व्यवस्था छ।

डा. रिजालको प्यानलमा को-को छन्?
अध्यक्ष: डा. बद्री रिजाल
वरिष्ठ उपाध्यक्ष: डा. सञ्जीव तिवारी
महासचिव: डा. विश्वराज दवाडी
कोषाध्यक्ष: डा. संयुक्त आचार्य
सहसचिव: डा. हुलास अग्रवाल
सह-कोषाध्यक्ष: डा. तेज्सु सिंह मल्ल

प्रादेशिक उपाध्यक्षहरू:
कोशी: डा. रोशन खड्का
मधेश: डा. अमित रञ्जन मिश्र
बागमती: डा. सुवास भट्टराई
गण्डकी: डा. नवराज लम्दारी
लुम्बिनी: डा. नन्दा गुरुङ
सुदूरपश्चिम: डा. प्रमोद जोशी
सदस्यहरू: डा. राकेश साह, डा. परशुराम घिमिरे, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. हिमाल भण्डारी।

यसपटकको चिकित्सक संघको निर्वाचनमा तीनवटा प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेस निकट डा. बद्रीको टिमसँग एमाले निकट डा. मंगल रावलको प्यानल र डा. नारायण भुसालको स्वतन्त्र डाक्टरहरूको समूहले प्रतिस्पर्धा गर्नेछ।

यी तीनै समूहले गत मंसिर २ गते आ-आफ्नो उम्मेदवारी दर्ता गराएर चुनावी अभियान तीव्र पारिरहेका छन्।

पुष ११, २०८२ शुक्रबार १३:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।