एशेज सिरिजमा एकै दिन २० विकेट पतन, अस्ट्रेलिया ४६ रनले अघि

एशेज सिरिजमा एकै दिन २० विकेट पतन, अस्ट्रेलिया ४६ रनले अघि

एजेन्सी : एशेज शृङ्खला अन्तर्गत मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु भएको चौथो ‘बक्सिङ डे’ टेस्टको पहिलो दिन बलरहरूको पूर्ण दबदबा रह्यो।

ब्याटरहरूका लागि दुस्वप्न बनेको पहिलो दिन दुवै टोलीको पहिलो इनिङ समाप्त भयो भने कुल २० विकेट पतन भयो। दिनको खेल समाप्त हुँदा घरेलु टोली अस्ट्रेलियाले समग्रमा ४६ रनको अग्रता लिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४५.२ ओभरमा १५२ रनमै अलआउट भयो। अस्ट्रेलियाका लागि तल्लो क्रमका ब्याटर माइकल नेसरले सर्वाधिक ३५ रन बनाए भने उस्मान खवाजाले २९ र एलेक्स केरीले २० रनको योगदान दिए।

स्टिभ स्मिथ (९) र ट्राभिस हेड (१२) जस्ता प्रमुख ब्याटरहरू चल्न सकेनन्। इंग्ल्याण्डका बलर जोस टंगले घातक बलिङ गर्दै ५ विकेट लिए भने गस एटकिन्सनले २ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डको अवस्था झनै नाजुक रह्यो। अस्ट्रेलियाली बलरसामु निक्कै निरीह देखिएको पाहुना टोली २९.५ ओभरमा ११० रनमै सीमित भयो। इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले आक्रामक ब्याटिङ गर्दै ४१ रन र गस एटकिन्सनले २८ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। जो रुट शून्यमै आउट भए।

अस्ट्रेलियालाई पहिलो इनिङमा ४२ रनको अग्रता दिलाउन माइकल नेसरले ब्याटिङपछि बलिङमा पनि चम्किँदै ४ विकेट लिए। त्यस्तै स्कट बोलान्डले ३ र मिचेल स्टार्कले २ विकेट लिए।

पहिलो दिनको खेल समाप्त हुनुअघि आफ्नो दोस्रो इनिङ सुरु गरेको अस्ट्रेलियाले १ ओभर ब्याटिङ गर्दै बिना विकेटको क्षतिमा ४ रन बनाएको छ। नाइट वाचम्यानका रूपमा आएका स्कट बोलान्ड ४ रन र ट्राभिस हेड ० रनमा अविजित छन्।

करिब ९४ हजार दर्शकको उपस्थिति रहेको यो खेलमा पहिलो दिन नै दुवै टोली अलआउट भएको दुर्लभ दृश्य देखिएको छ।

पुष ११, २०८२ शुक्रबार १२:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।