रवि, बालेन र कुलमान एउटै चुनाव चिह्नबाट लड्ने तयारी, आज रातिसम्म सहमतिको खाका तयार हुने

रवि, बालेन र कुलमान एउटै चुनाव चिह्नबाट लड्ने तयारी, आज रातिसम्म सहमतिको खाका तयार हुने

काठमाडौं : वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अभियन्ता कुलमान घिसिङ एउटै ब्यानरमा आउने तयारी गरेका छन्।

यी तीन शक्तिबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको र सम्भवतः आज रातिसम्म ठोस सहमतिको खाका तयार हुने निकट स्रोतले जनाएको छ।

अहिलेसम्म भएको गृहकार्य अनुसार एकीकृत पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने वरीयतामा बालेन शाह लामिछानेभन्दा ठीक तल दोस्रो वरीयतामा रहनेछन्। विशेष गरी बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि लामिछाने कायम रहेको बुझिएको छ।

स्रोतका अनुसार, कुलमान घिसिङ पनि यस एकता प्रक्रियामा जोडिएका छन्। नयाँ समीकरणमा रवि शीर्ष स्थानमा रहँदा बालेन र कुलमान समान हैसियतसहित दोस्रो वरीयतामा रहने गरी सहमतिको खाका तयार पारिँदैछ।

रवि र बालेनबीच देखिएको केही संवादहीनता तोड्दै छलफललाई निष्कर्षमा पुर्याउन रास्वपा सांसद असिम शाह, आसिफ शाह, शिशिर खनाल र बालेनका सहयोगी कुमार बेन (कुमार व्यञ्जनकार) सक्रिय रूपमा लागेका छन्।

रवि र बालेनबीच दुई चरणको वार्ता गराएका उनीहरूले विस्तृत सहमतिको ड्राफ्ट तयार पारिरहेका छन्। बिहीबार अपराह्नसम्म चलेको भेटमा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातबारे छलफल भएको थियो।

एकता प्रक्रिया टुंगो लागेमा तीनै जना नेताले आसन्न चुनावमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ बाटै प्रतिस्पर्धा गर्नेछन्।

‘लौरी कि घण्टी’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले ‘समयले बताउने’ जवाफ दिए पनि रास्वपाको चिह्न आम रूपमा स्थापित भइसकेकाले त्यसैलाई लिएर अघि बढ्न बालेन र कुलमान लचिलो देखिएका छन्।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईले पनि राजनीतिक मुद्दामा एकै ठाउँ उभिने परिस्थिति बने ‘घण्टी’ लिएर चुनावमा जान गाह्रो नहुने बताएका छन्।

यसअघि ७ पुसको राति कमलपोखरीमा भएको छलफलका विषय रविले बाहिर ल्याएको भन्दै बालेन केही बिच्किएका थिए।

उनले कुमार बेनको निवासमा आफू निकट ‘देश विकास पार्टी’ वा ‘उज्यालो नेपाल’ सँग मिलेर जाने विषयमा पनि छलफल बढाएका थिए। बालेनले कुलमान घिसिङसँग छुट्टै छलफल गरेर सहमति जुटाइसकेको बुझिएको छ।

तर, सहकर्मीहरूको दबाब र नयाँ शक्तिहरू एक हुनुपर्ने ‘जेन-जी’को भावना कदर गर्दै रवि, बालेन र कुलमान एकै ठाउँमा उभिन लागेका हुन्।

रविले रास्वपामा आकांक्षी धेरै भएको भन्दै ७०-३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्ने प्रस्ताव गरेका छन्, जसमा छलफल गरेर सहमति जुटाउने जिम्मा वार्ता टोलीलाई दिइएको छ।

यदि अन्तिम समयमा रास्वपासँग कुरा नमिलेमा बालेन र कुलमान भने सँगै जाने निश्चित भइसकेको उज्यालो नेपाल पार्टीका नेताहरूले दाबी गरेका छन्।

पुष ११, २०८२ शुक्रबार ११:५२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।