११ दिनमै १० हजारले बढ्यो सुनको मूल्य, बनायो नयाँ कीर्तिमान
काठमाडौं : पुस महिना लागेसँगै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। महिनाको सुरुवाती ११ दिनको तथ्याङ्क हेर्दा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ। यो महिनाको सुरुको तुलनामा १० हजार ३ सय रुपैयाँको वृद्धि हो।
पौष १ गते बजार खुल्दा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ थियो। महिनाको पहिलो हप्तामा सामान्य उतारचढाव देखिए पनि पौष ७ गतेबाट मूल्यमा उच्च वृद्धि सुरु भएको देखिन्छ।
पौष ४ र ६ गते सुनको मूल्य २ लाख ५८ हजारको हाराहारीमा झरेको थियो। तर, पौष ७ गते एकैपटक बढेर २ लाख ६१ हजार ७ सय पुग्यो।
त्यसपछि पौष ८ गते २ लाख ६७ हजार २ सय हुँदै पौष ९ गते २ लाख ६८ हजार १ सय पुगेको थियो। पौष १० गते सामान्य गिरावट आए पनि आज गते पुनः बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। पौष १ गते प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ। यो ११ दिनको अवधिमा चाँदीको मूल्यमा प्रतितोला ६ सय ८० रुपैयाँले वृद्धि भएको छ।
मूल्यमा भइरहेको यो निरन्तरको वृद्धिले लगानीकर्ताहरू उत्साही देखिए पनि आम उपभोक्ताका लागि भने सुनचाँदी खरिद गर्न निकै महँगो साबित भइरहेको छ।
पुष ११, २०८२ शुक्रबार ११:१५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।