२० प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने
काठमाडौं : नेपाल प्रहरीका २० जना कर्मचारी विगत दुई महिनादेखि कार्यालयको सम्पर्कमा नरहेको पाइएको छ।
लामो समयदेखि आफूखुशी गैरहाजिर रहेका ती प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीहरूको विवरण सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार केही प्रहरी कर्मचारी गत असोज महिनादेखि र केही कात्तिकदेखि विना जानकारी आफूखुशी गैरहाजिर रहेका छन्।
प्रधान कार्यालयले यसअघि उनीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका थिएनन्।
सोही कारण कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर उनीहरूलाई हाजिर हुन बोलाएको हो।
जारी सूचनामा बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ।
तोकिएको समयावधिभित्र पनि सम्पर्कमा नआएमा ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

पुष ११, २०८२ शुक्रबार ०७:२५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।