बालेनले देश विकास पार्टीलाई नै अगाडि बढाउने , यस्तो छ नयाँ पार्टी अफिस
काठमाडौँ : बिहीबार दिनभर ज्वागलमा रहेको सहयोगीको घरमा बालेन शाह राजनीतिक संवादमा व्यस्त रहँदा उनको समूहका एक टोली भने कुपन्डोलमा रहेको एक घरलाई कार्यालयको स्वरूप दिन व्यस्त थिए। यता बिहानैदेखि विभिन्न दलका नेतादेखि जेनजीका प्रतिनिधिहरू निरन्तर बालेनसँग राजनीतिक छलफल गर्न आइरहेका थिए। उता उनको टोलीले भने देश विकास पार्टीका लागि कार्यालय बनाउन व्यस्त थिए।
बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतकाहरुका नेताहरूसँग सहकार्यबारे निरन्तर छलफल चलाए पनि अबको निर्वाचनमा आफ्नै नेतृत्वमा नयाँ पार्टी अगाडि बढाउने निष्कर्षमा पुगिसकेका थिए। त्यही अनुसार उनले आफ्नो टिमका सदस्यहरूलाई पार्टी कार्यालय बनाउन खटाइसकेका थिए। बिहीबार भएका छलफलमा उज्यालो नेपालका कुलमान घिसिङसहित जेनजी समूहका रक्षा बम लगायतका समूहसँग सहकार्य गर्ने लगभग सहमति भइसकेको छ। अन्यको हकमा भने निष्कर्ष निस्किएको छैन।
सुधन गुरुङ समूहका अधिकांश जेनजी लिडरहरू समेत बालेनको पार्टीबाट राजनीतिक गतिविधिमा सक्रिय हुन सहमत देखिएका छन्। रास्वपाका नगएका विवेकशीलका मिलन पाण्डे, रास्वपा छाडेर बसेकी सुमना श्रेष्ठ लगायतकाहरु पनि बालेनसँग सहकार्य गर्न तयार भएपछि अब ढिला गर्न नहुने भन्दै संगठित रूपमा पार्टी कार्यालय नै बनाएर काम गर्ने तयारीमा बालेन समूह पुगेको छ।
पुष १०, २०८२ बिहीबार २२:५३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।