बालेनको १२ घण्टा : नयाँ समीकरण बनाउन ज्वागलमा 'म्याराथन मिटिङ'

बालेनको १२ घण्टा : नयाँ समीकरण बनाउन ज्वागलमा 'म्याराथन मिटिङ'

काठमाडौं :  फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार बिहानबाट साँझसम्म राजनीतिक भेटघाटमा व्यस्त रहे। बुधवारबाट एकाएक राजनीतिक भेटमा सक्रिय भएका उनले बिहीबार १२ घण्टा बिताए।

आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरमा रहेको घरमा बिहानैदेखि 'डेरा' जमाएर बसेका उनले विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र स्वतन्त्र अभियानकर्मीहरूसँग 'म्याराथन' भेटघाट गरे।

'देश विकास पार्टी' मार्फत आगामी निर्वाचनमा देशभर उम्मेदवारी दिने तयारीमा रहेका बालेनको बिहीबारको १२ घण्टा कसरी बित्यो ?

१. बिहान ७-९ बजे: कुलमान घिसिङसँग 'पावर' डिल

बालेनको पहिलो भेट ऊर्जामन्त्री कुलमान घिसिङसँग भयो। 'उज्यालो नेपाल पार्टी' दर्ता गरिसकेका घिसिङ र बालेनबीच पार्टी एकता गर्ने वा घिसिङ बालेनको 'देश विकास पार्टी' मै सामेल हुने भन्नेबारे निर्णायक छलफल भएको थियो। भेटपछि कुलमानले सार्वजनिक रूपमै "नयाँ शक्ति सबै मिलेर जानुपर्छ" भन्दै बालेनसँगको सहकार्यको संकेत दिएका छन्।

२. ९-११ बजे: कांग्रेस नेता सुनिल शर्मासँग संवाद

कुलमानपछि बालेनले नेपाली कांग्रेसका निवर्तमान सांसद सुनिल शर्मालाई भेटे। शर्मा मेडिकल व्यवसायका बदनाम पात्र हुन्। तर उनै बदनाम पात्रसँग बालेनले नयाँ शक्ति बनाउनेबारे छलफल गरे। उनी नक्कली शैक्षिक प्रमाण पत्रमा समेत परेका थिए। तर उनलाई जोगाउन तत्कालीन सरकारले मुद्दा नचल्ने निर्णय गरेको थियो।

३. दिउँसो १२-२ बजे: रवि लामिछानेसँग 'निर्णायक' वार्ता

बिहीबारको सबैभन्दा प्रतीक्षित भेट रास्वपा सभापति रवि लामिछानेसँग भयो। सोमबार रातिको 'वान अन वान' भेटपछि बालेनले रविलाई फाइनल संवादका लागि कुपण्डोलमै डाँके। रविले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चाबीच भएको यो भेटमा ठोस निष्कर्ष ननिस्किए पनि छलफल सकारात्मक भएको बताइएको छ। रविले सञ्चारकर्मीले "बालेनको लौरो टेक्ने कि घण्टी बजाउने” भनेर सोधेको प्रश्नमा “समयले बताउला" भन्ने जवाफ दिए।

४. दिउँसो २-३ बजे: अमरेशकुमार सिंह र शिशिर खनाल

रवि बाहिरिएलगत्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंह र रास्वपाका पूर्वसांसद शिशिर खनालसँग बालेनले छुट्टाछुट्टै भेट गरे। खनालले बालेनलाई प्रधानमन्त्रीको 'स्वाभाविक पात्र' का रूपमा स्वीकार गरिसकेका छन्। विवादित पात्र अमरेशले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका जितेका थिए। उनी कुनै समय बालेनको कटु आलोचक थिए।

५. दिउँसो ३-४:३० बजे: 'जेनजी' सँगको कचहरी

बालेनले रक्षा बम, सुदन गुरुङ, रोहनराज दंगाल लगायतका 'जेनजी'प्रतिनिधिहरूसँग लामो छलफल गरे। उनले युवाहरूलाई समेटेर राजनीतिमा नयाँ अध्याय सुरु गर्न लागेको भन्दै २५ वर्ष पूरा भएका युवाहरूलाई १६४ निर्वाचन क्षेत्रमै उम्मेदवार बन्न आह्वान गरे।

"मलाई एक्लै जितेर पुग्दैन, परिवर्तनका लागि देशभरि मान्छे चाहिएको छ," बालेनले युवाहरूलाई भने।

६. साँझ ४:३०-६ बजे: बाबुराम भट्टराई र खगेन्द्र सुनार

साँझतिर बालेनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरे। भट्टराईले बालेनलाई नयाँ र वैकल्पिक शक्तिहरूको समन्वय गर्ने जिम्मेवारी लिन आग्रह गरे। लगत्तै 'हाम्रो नेपाल पार्टी' का अध्यक्ष खगेन्द्र सुनारसँग भेटेर बालेनले नयाँ पार्टीहरूको साथ मागेका थिए।

पुस १३ को 'डेडलाइन'

बालेनको यो दौडधुपको मुख्य कारण निर्वाचन आयोगमा पुस १३ र १४ गते बुझाउनुपर्ने समानुपातिकको बन्दसूची हो। 'लौरो' चुनाव चिह्न भएको देश विकास पार्टीमार्फत आगामी शनिबारसम्म ११० क्षेत्रको उम्मेदवार टुंगो लगाउने बालेनको तयारी छ। बालेनले यसअघि चन्द्र भण्डारी, रेशम चौधरी, ज्ञानेन्द्र शाही र डा. भगवान् कोइराला लगायतकासँग पनि भेट गरिसकेका छन्।

पुष १०, २०८२ बिहीबार २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।