रवि-बालेन छलफलमा सहकार्यको मोडलमा सहमति भएन, बालेन निरन्तर राजनीतिक संवादमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको ६ घण्टाको छलफलमा सहमति भन्दा अविश्वास बढाएपछि आफ्नै दलमार्फत संसदीय राजनीतिमा सक्रिय हुन छलफलमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाहसँग रविले बिहीबार कुपण्डोलमा रहेको कुमार बेनको घरमा तेस्रो भेट गरे।
रास्वपाका नेताहरूले एकै गाडीमा निस्किएर राजनीतिक सहकार्यको सहमति भएको दाबी गरेको दोस्रो दिन बुधवारबाट एकाएक बालेनले रास्वपासँग सहकार्य गर्ने भन्दा पनि निर्वाचन आयोगमा दर्ता रहेको देश विकास पार्टीलाई सक्रिय गराउन संवाद सुरु गरेपछि बिहीबार रवि बालेनका सहयोगी बेनको घर पुगेका थिए। दुबैबीच करिब २ घण्टा छलफल भएको थियो।
छलफलपछि बाहिरिएका रविलाई बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए। जवाफ लामिछानेले अलिकति प्रतीक्षा गनुपर्ने जवाफ दिएका थिए। सञ्चारकर्मी अगाडि धाराप्रवाह बोल्ने स्वभावका उनी बिहीबार निकै सम्हालिएका थिए। बाक्लो भीडबीच सञ्चारकर्मीले ‘लौरो टेक्ने हो कि घण्टी बजाउने हो ?’ भनेर गरेको प्रश्नमा उनले भने, ‘अलिकति पर्खनुस् न। भनेका थिए।
वार्ता कस्तो भयो भन्ने प्रश्नको जवाफमा उनले मेरो अनुहारमा देख्नुभएन? भन्ने प्रतिप्रश्न गरेका थिए। रास्वपाबाट भावी प्रधानमन्त्रीको रूपमा सहकार्य गर्नेबारे रवि र बालेनबीच छलफल भएको र सहमति समेत भएको रास्वपा पक्षले दाबी गरे पनि बालेनपक्षले भने रविको व्यवहार र शैली विश्वसनीय नभएको भन्दै आफैँ नयाँ शक्ति निर्माणमा सक्रिय भएका थिए।
बुधवारबाट बालेन सहयोगी बेनको घरमा बसेर निरन्तर विभिन्न दलका नेता, जेनजी आन्दोलनका अगुवा र राजनीतिमा सक्रिय हुन चाहने कलाकार लगायतकाहरुसँग भेटिरहेका छन्। बुधवार रक्षा बमसहितसँग भेटेर बालेनले जेनजी अगुवाहरूलाई एक जुट गराउने जिम्मा दिइसकेका छन्। रास्वपाले प्रस्ताव गर्दा रक्षा राजनीतिक रूपमा अस्पष्ट रहेको भन्दै रास्वपाका जान सहमत भएकी थिइनन्। विवेकशील साझा रास्वपाका विनासर्त विलयहुँदा बाहिरै बसेका मिलन पाण्डे समेत बालेनसँग छलफलमा छन्।
बालेन समूहमा रास्वपा छाडेकी सुमना श्रेष्ठ समेत छिन्। श्रेष्ठ बालेनको निर्णय कुर्दै अहिलेसम्म कुनै पनि दलमा आबद्ध भएकी छैनन्। यसले बालेनसँग सहकार्यमा सहमत भएकाहरू रास्वपासँग विमति रहेकाहरू देखिएकाले बालेन रास्वपाबाट संसदीय राजनीतिमा आउने भन्दा अलग्गै सक्रिय हुने तयारीमा रहेको देखाउँछ।
बालेन समूहका अनुसार उनले रास्वपाका केही नेताहरूलाई आफ्नो दलमा आउन अनुरोध समेत गरेका छन्। त्यहीक्रममा बिहीबार शिशिर खनालसँग उनले कुपन्डोलमै छलफल गरेका थिए। रास्वपाका अन्य नेताहरूसँग पनि बालेन संवादमा रहेको उनी निकट सहयोगीले जानकारी दिए। निश्चल बस्नेत लगायतका केही कलाकारहरू भने अझै पनि बालेन र रविलाई सहकार्यमा मनाउने पक्षमा सक्रिय देखिएका छन्।
बालेनले कुलमान घिसिङसँग समेत एकै भएर जाने विषयमा छलफल गरिसकेको उनको टिमका सदस्यहरूले जानकारी दिएका छन्। बालेनले मेयरमा स्वतन्त्र उम्मेदवार बन्दा पाएको चुनाव चिह्न लौरो लिएको देश विकास पार्टीलाई सक्रिय गराएर संसदीय राजनीति गर्ने तयारी गरिरहेका छन्।
पुष १०, २०८२ बिहीबार १६:४८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।