रविसँग बिच्किएका बालेन ओलीसँग चुनाव लड्दै, लौरो दल जगाएर झापा-५ बाट उम्मेदवार बन्न गृहकार्यमा

रविसँग बिच्किएका बालेन ओलीसँग चुनाव लड्दै, लौरो दल जगाएर झापा-५ बाट उम्मेदवार बन्न गृहकार्यमा

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने गृहकार्यमा सक्रिय भएका छन्। उनले जेन-जी आन्दोलनको अपमान गरेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको निर्वाचन क्षेत्र छानेका हुन्।

बालेन निकट स्रोतका अनुसार उनले केपी ओलीसँग प्रतिष्पर्धा गर्ने विषयमा आफ्नो कोर टिमसँग सल्लाह गरेपछि अन्य पक्षसँग समेत झापा-५ मा उम्मेदवार बन्नेबारे छलफल गरेका थिए।

‘पहिला मेयरको म्यान्डेट पाँच वर्ष भएकाले बिचैमा छाड्नु हुन्न भन्ने थियो। तर, अहिले उम्मेदवार बन्नेबारे छलफल भइरहेको छ,’ बालेन टिमका एक सदस्यले भने, ‘झापा-५ मा केपी ओलीसँग प्रतिष्पर्धा गर्नेबारे छलफल भइरहेको सत्य हो। तर निर्णय नै भएको भने हैन। उनको जन्मस्थान पनि विकल्पमा छ।’

ती सदस्यका अनुसार यदि बालेन संसदीय राजनीतिमा आएमा उनले झापा-५ बाट प्रतिष्पर्धा गर्ने सम्भावना बढी छ। भदौ २३ को घटनाबारे ओलीको अभिव्यक्ति, सुशीला कार्कीबारे उनले गर्ने टिप्पणी र जेन-जी आन्दोलनबारे ओलीको नकारात्मक धारणापछि बालेन संसदीय राजनीतिमा उनीसँगै प्रतिष्पर्धा गर्न चाहेका हुन्।

‘ओलीजीको असहिष्णु राजनीति र भ्रष्ट व्यवहारका कारण जेन-जी आन्दोलन भएको हो। तर एमालेजनले यो स्वीकार गर्न सकेन,’ बालेन निकट दोस्रो स्रोतले भन्यो, ‘भदौ २३ मा त्यत्रा युवा मारिँदा माफीसम्म नमाग्नेलाई पुन अध्यक्षमा निर्वाचित गरेपछि उनलाई संसदीय राजनीतिमा पराजित गर्न बालेनको तयारी हो।’

उनले यसको तयारीको प्रारम्भमा कोर टिमसँग सल्लाह गरेका थिए। कोर टिमबाट मिश्रित प्रतिक्रिया आयो। केहीले मेयरको कार्यकाल सक्न सुझाव दिएका थिए। केही फागुन २१ मा निर्वाचन हुने भए समय कम हुने सुझाव दिए।

तर बालेन फागुन २१ मै निर्वाचन भए पनि उम्मेदवार बन्नेगरि तयारीमा लागेका छन्। यसका लागि उनले आफू स्वतन्त्र उम्मेदवार बन्दा पाएको लौरो चुनाव चिन्ह पाएको देश विकास पार्टीलाई छानेका छन्।

सोही चुनाव चिन्ह लिएर संसदीय राजनीतिमा सक्रिय हुन उनले विभिन्न दलका नेता,कलाकार लगायतसँग छलफल समेत अगाडि बढाएका छन्।

रविको भेटबारे रास्वपाबाट ‘गलत प्रचार’
बालेन टिमका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँगको भेट र छलफलको विषय सार्वजनिक गर्ने र छलफलमा हुँदै नभएको विषयमा सहमति नै भए जसरी बाहिर प्रचार भएकोमा बालेन असन्तुष्ट बनेपछि थप राजनीतिक संवाद अगाडि बढाएका हुन्।

रास्वपाको तर्फबाट रवि भेट्न आग्रह आएपछि उनी भेट्न राजी भएको तर कति समय भेटेदेखि कुन गीत गाएसम्मको सूचना मिडियामा दिने, प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रचार भएपछि उनी असन्तुष्ट भएका हुन्।

‘दुई जना भेटेको सत्य हो। ६ घन्टा भएको कुराकानीमा दुई नेता बाहेक तेस्रो कोही थिएनन्। छलफल अनेक विषयमा भए पनि सहमति कुनै विषयमा भएको हैन,’ बालेन समूहका स्रोतले भन्यो, ‘त्यो भेटपछि बालेन संसदीय राजनीतिमा जानुपर्छ भन्नेमा पुगेका हुन्। तर, रास्वपाले सबै सहमति नै भए जसरी प्रचार गराएपछि बालेनले चित्त बुझाएनन्।’

स्रोतका अनुसार रविले छलफलमा ‘म जन्मेकै प्रधानमन्त्री बन्न’ भन्दै कानुनी प्रक्रियाका कारण आफू तत्काल प्रधानमन्त्री बन्न नपाउने भएकाले बालेनलाई बनाउने र बालेनले आफ्नो मुद्दा फिर्तामा सहजीकरण गरेर कानुनी प्रतिबन्ध खुलेपछि प्रधानमन्त्रीमा सघाउनु पर्ने सर्त राखेपछि बालेन बिच्किए।

त्यसपछि उनले बुधबारबाटै रास्वपा छाडेका सुमना श्रेष्ठसहित रास्वपामै रहेका केही नेतासहित नेपाली कांग्रेस, एमाले राप्रपा लगायतका दलमा रहेका युवा नेता, अन्य क्षेत्रमा राजनीतिमा रूची राखेकाहरूसँग छलफल शुरू गरे।

बुधबार २० जना बढीसँग भेटेका उनले बिहीबार पनि छलफल गर्ने तयारी गरेका छन्। उनी अहिले समानुपातिक उम्मेदवारको सूचीमा केन्द्रित रहेको टिमका सदस्यले बताए।

पुष १०, २०८२ बिहीबार १०:५५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।