भुपू आर्मी रामकुमारको हिजोका कुरा : पाँच दिन लेवनानको ‘कालकोठरी’मा भोकै, बाँच्नका लागि ट्वाइलेटको पानी पियौँ

भुपू आर्मी रामकुमारको हिजोका कुरा : पाँच दिन लेवनानको ‘कालकोठरी’मा भोकै, बाँच्नका लागि ट्वाइलेटको पानी पियौँ

वि.सं. २०१० साल। रामेछाप जिल्लाको खनियाँपानी। त्यही गाउँको एक सामान्य परिवारमा जन्मिएका हुन्- रामकुमार खड्का।

६ दाजुभाइमध्येका ठाइला सन्तान। देशमा राणा शासन ढलेको भर्खर तीन वर्ष मात्र भएको थियो। राजनीतिक व्यवस्था फेरिए पनि गाउँघरको अवस्था उस्तै थियो- न गतिलो स्कुल, न उज्यालोका लागि टुकी बत्ती नै! त्यही अन्धकार र अभावका बीचमा हुर्किएका रामकुमारको जीवनको कथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन।

स्कुलको पढाइदेखि गोठालो जीवन, नेपाली सेनाको कडा अनुशासनदेखि लेवनानको गृहयुद्धको चपेटासम्म। स्वदेशको माटोमा पसिना बगाउँदाको गौरवदेखि परदेशमा ‘बेचिएको’ पीडा भोग्दाको क्षणसम्म। उकेराको कोलम ‘हिजोका कुरा’का लागि गरिएको कुराकानीमा उनले आफ्नो जीवनका पानाहरू यसरी पल्टाए:

पढाइभन्दा गोठालोमै ध्यान
मेरो जन्म वि.सं. २०१० सालमा रामेछापको खनियाँपानीमा भयो। त्यो बेला मान्छेहरूको ध्यान अक्षर चिन्ने वा पढाउने भन्दा पनि खेतीपाती र बस्तुभाउमै केन्द्रित हुन्थ्यो। त्यतिबेला बा-आमाले छोराछोरीलाई स्कुल पठाउने चलन नै थिएन भन्दा पनि हुन्छ। जन्मिएर अलिकति हिँडडुल गर्न सक्ने भएपछि सिधै खेतीपातीको काममा लगाइन्थ्यो।

त्यो बेलाको समाजमा एउटा उखान खुबै प्रचलित थियो- ‘जसका भैँसी उसको वन, जसका छोरा उसको धन।’ अर्थात जसका छोराहरू धेरै हुन्छन्, उसले धेरै खेतीपाती गर्न सक्छ, धेरै कमाइ गर्न सक्छ भन्ने विश्वास थियो। अर्कोतिर, जसका धेरै भैँसी हुन्थे, वन पाखा उसकै कब्जामा हुन्थ्यो। त्यसैले छोरा हुनु भनेको काम गर्ने पाखुरा थपिनु मानिन्थ्यो। म पनि त्यही मान्यता भित्र हुर्किएँ, पढाइभन्दा बढी बस्तु गोठालोमै समय बित्यो।

त्यतिबेला भैँसी पाल्नुको मुख्य कारण दूध-दही खानभन्दा पनि खेतीपातीका लागि मल जम्मा गर्नु हुन्थ्यो। अहिलेको जस्तो बजारमा बोराका बोरा युरिया वा पोटास मल पाइँदैन्थ्यो। उब्जनी बढाउने एक मात्र सहारा भनेको गाईवस्तुको मल नै थियो। यदि आफ्नो गोठमा गाईवस्तु छैनन् भने पनि अरूको बाट मागेर वा किनेर ल्याएर पाल्नुपर्थ्यो, केवल मलका लागि।

स्कुलको कुरा गर्दा, हाम्रो पुस्ताले बाल्यकालमा कापी र कलम देख्नै पाएन भन्दा पनि हुन्छ। हामी ‘पाटी’मा लेख्थ्यौं। कसै-कसैले त्यसलाई ‘पटा’ पनि भन्थे। लेख्नका लागि एक किसिमको नरम प्रकारको ‘खरी ढुङ्गा’को प्रयोग हुन्थ्यो। त्यही खरीले कालो पाटीमा कोरेर कखरा सिकियो।

कक्षा पाँचसम्म मैले घर नजिकैको स्कुलमा पढेँ। त्यसपछि थप पढाइका लागि गाउँ छोडेर दुम्जा जानुपर्यो। दुम्जा हाईस्कुलमा ८ कक्षासम्म अध्ययन गरेँ। घरबाट स्कुल टाढा भएकाले उतै कोठा भाडामा लिएर बस्नुपर्थ्यो। तर, ‘भाडा’ शब्द मात्रै थियो।

म मात्र होइन, टाढाबाट आउने धेरै विद्यार्थीहरू हप्ता दिनका लागि पुग्ने रासन बोकेर जान्थे। त्यो समयका घरबेटीहरू अहिलेको जस्तो व्यवसायी थिएनन्। विद्यार्थी भनेपछि उनीहरूमा अगाध स्नेह हुन्थ्यो। कसैले पनि कोठा भाडा माग्दैन थिए। जसको घरमा कोठा खाली छ, उसले निःशुल्क बास दिन्थे।

त्यो समयका मान्छेहरू साँच्चै नै निःस्वार्थी र सहयोगी भावनाका थिए। बाटोमा हिँड्दा कोही पर देखियो भने पनि मनमा ढाडस मिल्थ्यो। ‘ओहो ! कोही त रहेछ’ भनेर डर हराउँथ्यो। साँझ-बिहान कतै एक्लै हिँड्नुपर्दा पर कोही राँको बालेर हिँडेको देखियो भने, ‘त्यो मान्छेको साथ लागेर जान्छु’ भन्ने आँट आउँथ्यो। मान्छे मान्छेको सहारा बन्थे।

कबड्डी र टोपी लुकाई : जित्दाको त्यो सान
हाम्रो पालामा मनोरञ्जनका साधन भनेकै स्थानीय खेलहरू थिए। मुख्यगरी दुईवटा खेल खुबै खेलिन्थ्यो- ‘कबड्डी’ र ‘टोपी लुकाई’। हुन त फुटबल, भलिबल र बास्केटबल पनि नभएका होइनन्, तर ती खेल साना केटाकेटीलाई खेल्न दिँदैनथे। ती त ठूला-बडाका खेल मानिन्थे। कहिलेकाहीँ साथीभाइ मिलेर डण्डीबियो पनि खेलिन्थ्यो।

स्कुलमा कबड्डी वा टोपी लुकाई खेल प्रतियोगिता हुन्थ्यो। खेल जित्नेलाई पुरस्कारको व्यवस्था पनि थियो। पुरस्कार के होला? आजको जस्तो शिल्ड वा मेडल होइन। पुरस्कार हुन्थ्यो- एक थान कापी र पेन्सिल। तर, त्यसको महत्व सुनको सिक्काभन्दा कम हुँदैन थियो।

गाउँभरि हल्ला हुन्थ्यो- ‘फलनाको छोराले स्कुलमा खेल जितेर कापी-पेन्सिल ल्यायो रे!’ त्यो सम्मान र चर्चा नै बेग्लै हुन्थ्यो। मैले त खेल खेलेर कहिल्यै पुरस्कार जितिनँ, तर जित्ने साथीहरूको रवाफ देख्दा लाग्थ्यो, उनीहरूले संसारै जितेका छन्।

पढाइ बिदा भयो कि हाम्रो काम भनेकै गोठालो जाने हुन्थ्यो। अहिलेका केटाकेटी जस्तो फुर्सदमा ट्युसन पढ्ने वा घुम्ने भन्ने हुँदैन थियो। स्कुल छुट्टी भयो कि गाउँका केटाहरू हुल बाँधेर कि त खेतमा काम गर्न जानुपथ्यो, कि त गोठालो। हाम्रो समयमा गोठालो गएपछि बेलुका घर फर्किने चलन थिएन, गोठमै बास बस्नुपर्थ्यो।

गोठमा बस्दा कहिलेकाहीँ हामीलाई ‘राँके भूत’ले तर्साउथ्यो। हुन त भौतिक रूपमा केही हुँदैनथ्यो, तर आवाज आउँथ्यो- कुकुर भुके जस्तो ‘घ्वाँक-घ्वाँक’ गर्ने। गाउँले विश्वास अनुसार, राँके भूत भनेको त्यस्तो शक्ति हो जसको थुतुनोमा आगो बल्थ्यो र त्यही उज्यालो लिएर हिँड्थ्यो।

त्यो समयमा बत्तीको नामनिसान थिएन। घरमा टुकी बत्ती पिलिक्क बल्थ्यो, गोठमा त त्यो पनि हुँदैन थियो। उज्यालो हुँदै भात-तिउन खाइसक्नुपर्थ्यो। हामी त्यही ‘राँके भूत’ को उज्यालोको सहारामा सुनकोशी नदी वारिपारि गर्थ्यौं। अब आफैँ अनुमान लगाउनुहोस्, हामी कुन समयका मान्छे हौँला! हाम्रा गोठहरू सुनकोशी नदीको छेउमै हुन्थे।

यसको एउटा रहस्यपछि बुझियो। सुनकोशी पारि दिनभरि विश्वकर्माहरूले फलाम पगाल्न गोल पोल्थे। साँझ परेपछि त्यो आगो निभाएर उनीहरू घर फर्किन्थे। उनीहरू फर्किएपछि त्यो गोलको थुप्रोमा भित्रभित्रै आगो बाँकी हुन्थ्यो। हावा चल्दा वा कोही जनावरले खोस्रिँदा त्यहाँबाट झिल्काहरू उठ्थे। हावाले त्यो आगोको झिल्का उडाएर यताउति लैजाँदा मानिसहरू ‘भूत हिँड्यो’ भन्थे।

कहिलेकाहीँ त्यो झिल्का पराल वा सुकेको ठाउँमा पर्यो भने डढेलो नै लाग्थ्यो। हामी त्यही डढेलोको उज्यालोमा गाईवस्तुलाई घाँस-पराल हाल्ने गर्थ्यौं। अचम्मको कुरा, राति जहाँ डढेलो लागेको देखिन्थ्यो, बिहान हेर्दा त्यहाँ केही पनि हुँदैन थियो। यस्ता घटना कति देखियो देखियो। अहिलेका पुस्तालाई सुनायो भने कथा जस्तो लाग्ला, पत्याउन गाह्रो पर्ला, तर त्यो हाम्रो भोगाइ थियो।

आगो बाल्नलाई सलाई वा लाइटर थिएन। ‘धुलो चक्मा’ भन्ने फलामको टुक्रा हुन्थ्यो। नेपाली कागज र ‘दल्छी ढुङ्गा’ मा राखेर त्यो फलामले चट्ट पार्दा आगोको झिल्का निस्किन्थ्यो र त्यही झिल्काबाट आगो सल्काएर खाना पकाउनुपर्थ्यो।

आर्मीको जागिर र बिहेको त्यो चार दिने छुट्टी
समय बित्दै गयो। गाउँमा गोठालो गर्दै हुर्किएको म, वि.सं. २०२७ सालमा नेपाली सेनामा भर्ना भएँ।  त्यो समयमा बिहेबारी अहिलेको जस्तो लाखौं खर्च गरेर, तामझामका साथ हुँदैन थियो। घरकाले केटी हेर्थे, कुरो छिन्थे।

बेहुलीका लागि खाँडीको कपडा र छिपाको गाउन सिलाइदिने चलन थियो। साडी, लेहेंगा भन्ने त सिस्टम नै थिएन। श्रृंगारको सामानमा सबैभन्दा ठूलो र महत्वपूर्ण चिज भनेको ‘कपालमा लगाउने धागो’ हुन्थ्यो। हाम्रो पालामा त्यो धागाे नभई हुँदैन थियो।

मेरो बिहेको किस्सा पनि रमाइलो छ। २०३१ सालमा सिन्धुलीको झाँगाझोली रातामाटाबाट मैले बिहे गरेको हो। त्यतिबेला म आर्मीको सिपाही थिएँ। माघ १ गते घरबाट कुरो छिनियो र माघ २९ गतेको लगन निकालियो। तर, जागिरेको व्यथा ! म माघ २७ गतेसम्म काठमाडौंको नयाँ बानेश्वर ब्यारेकमै थिएँ। २९ गते बिहे छ, २७ गते बल्ल छुट्टी पाइयो।

त्यतिबेला गाडीको सुविधा थिएन। बनेपासम्म जेनतेन गाडी चल्थ्यो, त्यहाँबाट हिँडेरै रामेछाप पुग्नुपर्थ्यो। २७ गते ब्यारेकबाट निस्किएर बनेपा हुँदै हिँडेको म, मंगलटार भन्ने ठाउँमा बास बस्न पुगेँ। भोलिपल्ट २८ गते भइसक्यो, २९ गते त बेहुलो बनेर जन्ती हिँड्नुपर्ने। म बेहुला, घर पुगेकै छैन।

उता घरमा खैलाबैला मच्चिसक्यो होला। संयोगले मंगलटारमा मेरी दिदी हुनुहुन्थ्यो, उहाँ पनि मेरै बिहेमा जानुपर्ने। २८ गते बिहानै दिदीहरूलाई लिएर हिँडे। खुट्टा सुन्निएर लामखुट्टे जत्रा भएका थिए। जेनतेन घर पुगियो।

भोलिपल्ट २९ गते बेहुला बनियो। तर आपत! सिलाएको लुगा यति टाइट भएको थियो कि पलेटी कस्दा फुट्ला जस्तो। ‘बेहुला भएपछि पलेटी मारेर बस्नुपर्छ’ भन्छन्, यता लुगाले कटकट खाइरहेको छ। जसोतसो विधि पूरा गरियो, बेहुली ल्याइयो। ३० गते भयो।

उता ब्यारेकमा फागुन २ गते बिहानै हाजिर हुनुपर्ने उर्दी थियो। १ गते शिला पुज्ने काम सकियो, म २ गते बिहानै हाजिर हुन काठमाडौं आइपुगेँ। बिहे गरेर श्रीमती भित्र्याएको भोलिपल्टै छोडेर हिँड्नुपर्यो। त्यसपछि एकैचोटि दशैंमा मात्रै हाम्रो भेट भयो।

आर्मीको जागिर पनि सजिलो थिएन। त्यतिबेलाको ड्रेस र अहिलेको ड्रेसमा आकाश-पाताल फरक छ। गर्मी होस् या जाडो, हामीले लगाउने हाफ पेन्ट र हाफ सर्ट नै हुन्थ्यो। जाडोमा कक्रेर बस्नुपर्थ्यो। अहिले त मौसम अनुसारको लुगा पाइन्छ।

अझ ‘क्वाटर गार्द’ (हतियारसहित गेटमा बस्ने) ड्युटीमा बस्दा त लुगामा टलक्क आइरन लगाएको हुनुपर्थ्यो। मैले २०२८ सालबाट जागिर सुरु गर्दा महिनाको ९९ रुपैयाँ तलब थियो। १२ वर्ष सेवा गरेर, तलब ५ सय पुगेपछि मैले जागिर छोडेँ।

लेवनानको मोह र ‘बेचुवा’ मा पर्दाको पीडा
आर्मीको १२ वर्षे जागिर चलिरहेकै थियो। तर, गाउँका भतिजा पर्ने केही केटाहरू आर्मीको जागिर छोडेर लेवनान गएका थिए। उनीहरूले विदेशबाट फर्किंदा पैसाको बिटा देखाए। उनीहरूले भने- ‘काका! यति जाबो पैसा कमाउने जागिर खाएर के बस्नुहुन्छ? लेवनान जाऔँ, पैसा त त्यहाँ छ।’

साथीभाइको लहलहै र पैसाको लोभमा फस्यो मन। हामी ८ जना जतिले सल्लाह गरेर आर्मीबाट राजीनामा दियौँ र लेवनान जाने तयारीमा लाग्यौँ। तर, सोचेजस्तो कहाँ हुन्थ्यो र?

हामीलाई लेवनान पठाउने एजेन्टको अचानक मृत्यु भयो। हामी त अलपत्र पर्यौं। पछि ‘हलुवा माडे’ भन्ने अर्को एजेन्ट समात्यौँ। उसले ‘जताजता हुन्छ उतै मिलाउँछु’ भनेर पठायो। तर विडम्बना! हामी त कामदारको रूपमा होइन, ‘बेचिएका’ मान्छेका रूपमा जाँदै रहेछौँ।

हामी लेवनानको एयरपोर्टमा उत्रियौं। त्यहाँ पुग्नेबित्तिकै एउटा मोटो मान्छे आयो र हाम्रो पासपोर्ट माग्यो। पासपोर्ट हातमा परेपछि हामी उसको बन्धनमा पर्यौं। उसले हामीलाई ट्याक्सीमा कोचेर कता लग्यो कता।

रातिको समय, झलमल बत्ती बलेको शहर, तर हाम्रो मनमा भने अन्धकार छायो। एउटा बोर्डरमा पुर्यायो, त्यहाँ प्रहरी वा आर्मीले क्रस गर्न दिएन। फेरि फर्काएर ल्यायो र एउटा लज जस्तो घरको गेटमा छोडिदियो।

त्यो घरमा एउटा विशाल ज्यान भएको मुसलमान मान्छे आयो। उसले ‘ता ता’ (आऊ आऊ) भन्दै इसारा गर्यो। भाषा नबुझे पनि इसारा बुझियो। उसले हामीलाई एउटा ठूलो बैठक कोठामा लग्यो। त्यहाँ टिभी चलिरहेको थियो। टिभीको पर्दामा डरलाग्दो दृश्य थियो- ठूलाठूला बम पड्किरहेका, गोलीको वर्षा भइरहेको, मान्छेहरू मरिरहेका। त्यो लेवनानको गृहयुद्धको वास्तविक दृश्य थियो।

त्यो भयानक युद्ध देखेपछि मेरा साथीहरू कोही रुन थाले, कोही चिच्याउन थाले। हाम्रो त्यो हाल देखेपछि त्यो मान्छेले हामीलाई घिसार्दै लगेर एउटा अँध्यारो कोठामा हुलिदियो र बाहिरबाट ताला लगाइदियो। सायद हामी नरोएको भए, नकराएको भए उसले त्यसो गर्दैन थियो होला।

भोकले आन्द्रा जोडिँदा ट्वाइलेटको पानी  पनि अमृत सरह
त्यो कोठा सिमेन्टको भित्ताले घेरिएको थियो। ओढ्ने-ओछ्याउने त थियो, तर खानेकुराको नाममा एक दाना अन्न थिएन। ढोकामा ताला लागेको छ। एक दिन बित्यो, दुई दिन बित्यो... पाँच दिन बित्यो। भोकले हामी छटपटाउन थाल्यौँ। मुखमा चारो छैन।

प्यास लाग्दा हामीसँग एउटै विकल्प थियो- कोठासँगै जोडिएको ट्वाइलेट। हामी त्यही ट्वाइलेटको धाराको पानी पिउँथ्यौं र पेट छाम्दै बस्थ्यौं। केही नखाँदा पेटका आन्द्रा सुकेर एकआपसमा जोडिए जस्तो हुन्थ्यो, पोल्थ्यो। पानी पिएपछि एकछिन शीतल हुन्थ्यो।

भोकको पीडा कतिसम्म हुन्छ भनेर मैले त्यही कोठामा अनुभव गरेँ। स्थिति यस्तो आयो कि, साथीहरू एक-अर्कालाई हेरेर सोच्न थाले- ‘अब यो कतिखेर मर्छ र यसैको मासु खाउँला!’

कोही साथी भोकले झोक्राएर लड्यो कि अरूलाई लाग्थ्यो- ‘ल अब यो मर्छ, यसलाई खानुपर्छ।’ जब यस्तो कुरा सुनिन्थ्यो, त्यो लडेको साथी पनि डरले जुरुक्क उठेर बस्थ्यो। मान्छेलाई बाँच्ने कत्रो मोह हुँदो रहेछ!

पाँचौं दिनमा बल्ल ढोकाको ताला खुल्यो। ताला खोल्ने मान्छे देख्दा लाग्थ्यो, साक्षात भगवान नै आए। भोक र त्रासले हाम्रो गला अवरुद्ध भइसकेको थियो, रुन खोज्दा पनि आँसु आउँदैन थियो, केवल ‘घुक-घुक’ आवाज मात्र निस्किन्थ्यो।

त्यो मान्छेले हामीलाई त्यहाँबाट निकाल्यो। अलिकति तन्दुरी र एउटा-एउटा रोटी खान दियो। नुन पनि राम्रोसँग नलागेको त्यो खाना हामीलाई अमृत लाग्यो। भोकले रन्थनाएको पेटमा एकैपटक धेरै खानु हुँदैन भनेर होला, उसले हामीलाई अघाउञ्जेल खान दिएन। तीन दिनसम्म थोरै-थोरै दिँदै बचायो।

लुटपाट र युद्धका बीच ९ महिना
त्यसपछि हाम्रो काम सुरु भयो। तर, निश्चित काम भन्ने थिएन। जे भेटिन्छ, त्यही गर्नुपर्ने। मैले धेरैजसो मजदुरीको काम गरेँ। लेवनानको त्यो ठाउँमा कानुन भन्ने चीज नै थिएन। त्यहाँका प्रहरीहरूसँग राइफल र सटगन हुन्थ्यो, तर उनीहरू नै लुटेरा जस्ता थिए। हामी सुत्ने कोठाको ताला फोरेर प्रहरीले नै हाम्रा सामान लुटिदिन्थे। उजुर गर्ने ठाउँ कतै थिएन।

त्यहाँका स्थानीय बासिन्दाहरू युद्धको त्रासले घरबार छोडेर भागिसकेका थिए। भुटानी शरणार्थीले देश छोडेजस्तै उनीहरूले पैसा र एक सरो लुगाबाहेक सबै सम्पत्ति छोडेर गएका थिए। हामीलाई तिनै खाली घरहरूमा राखिन्थ्यो। लुगाफाटा किन्नै पर्दैन थियो, छोडेर गएका मान्छेका लुगाले नै काम चल्थ्यो। हामी नौ महिनाजति त्यो नर्कजस्तो ठाउँमा बस्यौं।

नौ महिना कडा मेहनत गरेर घर फर्किने भाडा जम्मा गर्यौं। करिब ९-९ हजार लेवनानी पैसा तिरेर हामीले भारतको दिल्लीसम्मको टिकट काट्यौं। तर दिल्लीको एयरपोर्टमा उत्रिँदा हाम्रो खल्तीमा एक पैसा थिएन। भएको सबै सकिएको थियो।

दिल्ली झर्नेबित्तिकै हामीलाई अर्को आपत आइलाग्यो। हामी नौ जनालाई देख्नेबित्तिकै मान्छेहरूले ‘ए यी तिनै बेचुवा नेपाली हुन्’ भन्दै हेर्न थाले। हाम्रो तस्बिरसहितको समाचार पत्रिकाहरूमा छापिएको रहेछ- ‘१०५ जना नेपाली बेचिए’ भनेर। हामी तिनै बेचिएका मध्येका थियौं।

हामीमध्ये एक जना साथीले इजारभित्र लुकाएर ५ डलर जोगाएका रहेछन्। त्यही पैसाले जेनतेन बस चढेर सुनौलीसम्म आइपुग्यौं। सुनौली नाकामा आएपछि भने हाम्रो भाग्य बलियो भयो। ‘बेचिएर आएका नेपाली’ भनेर थाहा पाएपछि काठमाडौं आउने गाडीवालाले हामीसँग भाडा लिएनन्। उल्टै बाटोमा मासु-भात खुवाउँदै काठमाडौं ल्याएर छोडिदिए।

काठमाडौं त आइपुगियो, तर खल्ती रित्तो थियो। फेरि अलपत्र परियो। यो वि.सं. २०४१ सालतिरको कुरा हो। परदेशमा त्यत्रो दुःख पाइयो, मृत्युको मुखबाट बाँचियो। तर, मनमा कहिल्यै पनि ‘आर्मीको जागिर नछोडेको भए हुन्थ्यो’ भन्ने पछुतो आएन। जे भयो, भोगियो।

अहिले म सर्लाहीमा बसाइँ सरेको छु। खेती-किसानी गरेर आनन्दले जीवन बिताइरहेको छु। विगतका ती कहालीलाग्दा दिनहरू अब केवल सम्झना मात्र बनेका छन्।

पुष १०, २०८२ बिहीबार ११:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।