भारतमा बस र ट्रक ठोक्किएर भीषण आगलागी हुँदा १० जनाको जिउँदै जलेर मृत्यु

भारतमा बस र ट्रक ठोक्किएर भीषण आगलागी हुँदा १० जनाको जिउँदै जलेर मृत्यु

एजेन्सी : भारतको कर्नाटक राज्यस्थित चित्रदुर्गमा बुधबार राति भएको एक भयानक सडक दुर्घटनामा १० जनाभन्दा बढी यात्रुको जिउँदै जलेर मृत्यु भएको छ। केही सञ्चारमाध्यमले भने मृतकको सङ्ख्या १२ देखि १७ सम्म हुन सक्ने उल्लेख गरेका छन्।

दुर्घटना हिरियुर तालुकको राष्ट्रिय राजमार्ग-४८ मा भएको हो। बेंगलुरुबाट गोकर्ण जाँदै गरेको 'सीबर्ड ट्रान्सपोर्ट' को स्लीपर बस र ट्रक एकआपसमा ठोक्किएका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार रातको करिब साढे २ बजे दुर्घटना भएको हो। विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको एउटा लारी (ट्रक)ले डिभाइडर तोड्दै बसलाई ठक्कर दिएको थियो। ठक्कर लाग्नासाथ बसमा आगलागी भयो।

त्यस समयमा अधिकांश यात्रुहरू निदाएका थिए, जसका कारण उनीहरूले भाग्ने र आफूलाई बचाउने मौका समेत पाएनन्।

रिपोर्टहरूका अनुसार बसमा ३० भन्दा बढी यात्रु सवार थिए। बस र लारीमा लागेको आगो निभाउन ५ घण्टाभन्दा बढी समय लागेको थियो। प्रहरीका अनुसार शवहरू सडकमा छरिएका थिए।

पूर्वी जोनका प्रहरी महानिरीक्षक रविकान्त गौडाका अनुसार बसका चालक र सह-चालक भने बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। तर, ट्रकका चालक र सह-चालकको भने जलेर मृत्यु भएको छ।

केही यात्रुहरूले पनि बसबाट हाम फालेर ज्यान बचाएका छन्। घाइते यात्रुहरूलाई तुमकुरु जिल्लाको शिरास्थित अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

पुष १०, २०८२ बिहीबार ०९:१०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।