समानुपातिक उम्मेदवार छनोटका लागि विदेशमा रहेकालाई ‘भर्चुअल’ सुविधा दिँदै रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउन विभिन्न निर्णयहरू गरेको छ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट प्रक्रियामा छुटेका आकांक्षीलाई समेट्नेदेखि विदेशमा रहेकालाई भर्चुअल माध्यमबाट मूल्यांकन गर्नेसम्मका निर्णय गरेको हो।
बैठकले गत पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नपाएका समानुपातिक उम्मेदवारका आकांक्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ।
उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया अघि बढाउने जिम्मेवारी पार्टी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहोरालाई तोकिएको छ।
सो प्रक्रियाको आवश्यकता अनुसार अनुगमन गर्ने जिम्मा उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको छ ।
रास्वपाले प्रवासमा रहेका उम्मेदवारका आकांक्षीहरूको मूल्यांकन 'भर्चुअल' विधिमार्फत गर्ने निर्णय गरेको छ।
यद्यपि, भर्चुअल प्रक्रिया पार गरी बन्दसूचीमा पर्ने आवेदकहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाउनु अघि अर्थात् २०८२ पौष १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था मिलाइएको छ।
उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टीका उपसभापतिद्वय डोल प्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको सहमतिमा छनोट प्रक्रिया सहजीकरणका लागि केन्द्रीय समितिका सदस्यहरूलाई सहभागी गराइने भएको छ।
त्यस्तै, समानुपातिक उम्मेदवार छनोटको प्रारम्भिक निर्वाचनमा मतदान गर्ने सदस्यहरूको मापदण्ड निर्धारण गर्नका लागि एक कार्यदललाई अख्तियारी दिइएको छ।
जसमा उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको निर्वाचन आयोग र सूचना प्रविधि इकाईका प्रतिनिधिहरू रहनेछन्।
सचिवालय बैठकले पार्टीका दुई केन्द्रीय निकायमा सदस्य मनोनयन समेत गरेको छ। जसअनुसार केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गरिएको पार्टीले जनाएको छ।
पुष १०, २०८२ बिहीबार ०८:१५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।