क्यासिनोमा ‘हाइ-टेक’ डकैती : म्याग्नेटिक तास र आइलेन्सको जालोभित्र यसरी हुन्थ्यो करोडौंको लुट

क्यासिनोमा ‘हाइ-टेक’ डकैती : म्याग्नेटिक तास र आइलेन्सको जालोभित्र यसरी हुन्थ्यो करोडौंको लुट

काठमाडौं : म्याग्नेटिक तास र विशेष ‘आइलेन्स’को प्रयोग गरी काठमाडौंमा सञ्चालित क्यासिनोहरूमा ‘हाइ-टेक’ लुट मच्चाउने गिरोहको पर्दाफास भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना लामो सूक्ष्म अनुसन्धानपछि गिरोहका ६ सदस्यलाई पक्राउ गरी ठगीको डरलाग्दो जालो सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार भारतीय र नेपाली नागरिक मिलेर समूह खडा गरी 'क्यासिनो इभेन्ट'को आवरणमा यो ठगी धन्दा चलाइरहेका थिए। समूहले भारतबाट विशेष प्रकारको 'म्याग्नेटिक तास' र ती तासका संकेतहरू देख्न सकिने 'कन्ट्याक्ट लेन्स' नेपाल भित्र्याएको थियो। जसको सहायतामा गिरोहले खेलको नतिजा आफ्नो पक्षमा सुनिश्चित गर्ने गर्दथ्यो।

ठगीका लागि उनीहरूले दिल्लीका विक्की लालबाडी भन्ने व्यक्तिबाट १ लाख १० हजार भारुमा ५० प्याकेट ‘म्याग्नेटिक तास’ र ४ सेट विशेष ‘आइलेन्स’ खरिद गरेर नेपाल ल्याएका थिए। काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवन कुमार भट्टराईले भने, ‘खेलमा चाहिने आवश्यक सामाग्री भारतबाटै खरिद गरेर नेपाल ल्याएका थिए।'

यी तासमा विशेष चिप जडान गरिएको हुन्छ, जसका संकेतहरू सामान्य आँखाले देख्न सकिँदैन। तर, आँखामा विशेष आइलेन्स लगाएका गिरोहका ‘डमी’ खेलाडीले विपक्षीको हातमा कुन तास छ भन्ने सहजै थाहा पाउँथे। लेन्स लगाएर खेल्दा आँखामा अत्यधिक पीडा हुने भएकाले एउटा खेलाडीले बढीमा २ देखि ३ घण्टा मात्र खेल्ने र त्यसपछि अर्को डमी खेलाडीसँग लेन्स साटासाट गरेर खेललाई निरन्तरता दिने गरिएको भट्टराईले जानकारी दिए।

उनले भने, ‘लेन्स लगाएको खेलाडीले दुई देखी बढीमा तीन घण्टासम्म मात्रै खेल्न सक्ने रहेछ। नत्र आँखामा दुखाई हुने भएकोले खेलकै क्रममा अर्को खेलाडी चेन्ज गरी खेल्दा रहेछन्।’

इभेन्टको आवरण

यो ठगी धन्धालाई वैधानिक स्वरूप दिन ‘वाल्डो डाईनेस्ट्री इन्टरटेन्टमेन्ट प्राली’ नामक कम्पनी प्रयोग गरिएको खुलेको छ। कम्पनी रजिष्टारको कार्यालयको विवरण अनुसार उक्त कम्पनी ‘वाइज पिस डेभलपमेन्ट लिमिटेड हङकङ’ र पेमा गुरुङको नाममा दर्ता छ। जसमा चान मान चाङ सञ्चालक अध्यक्ष रहेका छन् भने २ अर्ब रुपैयाँको लगानी देखिन्छ।

यही कम्पनीको आडमा भारतीय नागरिक सुरेश महाजनले विगत दुई वर्षदेखि ‘क्यासिनो इभेन्ट’को आवरणमा ठगी धन्धा चलाउँदै आएका थिए। पछिल्लो पटक डिसेम्बर ११ देखि १४ सम्म काठमाडौंको म्यारिअट होटलमा फलास खेलाउन भन्दै उनले ७ देखि १० वटा टेबल बुक गरेका थिए।

गिरोहले आफ्नो अपरेसनलाई व्यवस्थित बनाउन ठूलो मात्रामा लगानी र जनशक्ति परिचालन गरेको थियो। खेलाडी र कर्मचारी व्यवस्थापनका लागि उनीहरूले होटल अलफ्टमा ४० वटा, म्यारिअटमा ५० वटा र होटल र्याडिसनमा २० वटा गरी कूल ११० वटा कोठा बुक गरेका थिए। यो गिरोहमा भारतबाट आएका ४० देखि ५० जना खेलाडीहरू संलग्न रहेको प्रहरीको दाबी छ।

भट्टराईले भने, ‘नेपालका विभिन्न होटलमा कोठा लिएर बसेको थिए। यो ग्रुपमा ४० देखी ५० जनासम्म खेलाडी रहेको खुल्छ।’ 

‘महाकाया’ र ‘बिपी’ ग्रुपको रणनीतिक साठगाँठ

ठगीलाई पूर्णता दिन भारतको ‘महाकाया ग्रुप’ र नेपालको ‘बिपी ग्रुप’ बीच कार्य विभाजन गरिएको थियो।

महाकाया ग्रुप (सुरेश महाजनको नेतृत्व): यसले भारतबाट प्रविधि (तास र लेन्स) ल्याउने, मुख्य खेलाडीहरू व्यवस्थापन गर्ने र लगानी गर्ने काम गर्थ्यो। भारतीय नागरिक महाजनले नेपाली नागरिक विनोदलाई साथमा लिएर इभेन्ट सञ्चालन गर्ने गर्थे। उनले ठगी गर्नकै लागी भारतबाट मुख्य खेलाडी विक्रम सिंहलाई बोलाएका थिए। 

बिपी ग्रुप (विनोद भनिने जनार्दन उप्रेतीको नेतृत्व): यो ग्रुपले नेपालमा होटल व्यवस्थापन, हवाई टिकट, क्यासिनो टेबल बुकिङ, बिल भुक्तानी र डमी खेलाडीहरूको व्यवस्थापन गर्थ्यो। विनोदले महाजनको ठगी धन्दामा सघाउँछन्। 

नेपालमा नेपालीलाई क्यासिनो खेल्न प्रतिबन्ध भए पनि बिपी ग्रुपका सदस्यहरूलाई क्यासिनोकै कर्मचारी वा भारतीय खेलाडीका रूपमा नक्कली परिचय दिएर भित्र छिराउने गरिएको अनुसन्धानमा देखिएको छ। पक्राउ परेका मुख्य खेलाडी विक्रम सिंहका अनुसार, इभेन्टबाट जितेको रकममा ९० प्रतिशत आयोजक सुरेश महाजनले राख्थे भने १० प्रतिशत मात्र खेलाडीले पाउने सहमति भएको थियो।

हुण्डी र ह्वाट्सएप कोडको रहस्य

ठगीबाट संकलित करोडौं रकम भारत पुर्याउन गिरोहले ‘हुण्डी’को प्रयोग गरेको फेला परेको छ। उनीहरूले ह्वाट्सएपमा 'vinod Npl 2' नामक गोप्य ग्रुप बनाएर कारोबार गर्थे। १ लाख रुपैयाँ भुक्तानी गर्दा सांकेतिक रूपमा ‘१ केजी’ भन्ने कोड प्रयोग गरिन्थ्यो। भुक्तानीको आधिकारिकता पुष्टि गर्न उनीहरूले १० रुपैयाँको भारु नोटलाई ‘टोकन’का रूपमा देखाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।

पक्राउ र फरारको सूची

प्रहरीले हालसम्म गिरोहका मुख्य नाइके सुरेश महाजन, मुख्य खेलाडी दिनेश बर्मा, विक्रम सिंह र नेपाली सहयोगीहरू चिजा खड्का तथा भवानी पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ।

तर, यस प्रकरणका अन्य मुख्य योजनाकारहरू अझै फरार छन्। फरार हुनेहरूमा बिपी ग्रुपका सञ्चालक विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी र कमल खरबन्दा मुकेश रहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले क्यासिनोबाट १२ सेट म्याग्नेटिक तास बरामद गरिसकेको छ भने होटलबाट थप ३८ सेट सिलबन्दी तास र दुई सेट आइलेन्स बरामद गरेको छ। फरार रहेका अभियुक्त गौरव खत्री र नीरज कुमारले भने आइलेन्स लगाएको अवस्थामा नै भागेको प्रहरीको भनाइ छ। यो प्रकरणले नेपालका क्यासिनोहरूको सुरक्षा व्यवस्था र अवैध आर्थिक कारोबारमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।

पुष ९, २०८२ बुधबार २२:३४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।